आजको भागदौड र व्यस्त जीवनशैलीका कारण मानसिक तनाव धेरै मानिसहरूको साझा समस्या बन्दै गएको छ । निरन्तर चिन्ता, बेचैनी, उदासी र मुड खराब भइरहने जस्ता समस्याले धेरैलाई सताइरहेको छ ।
यहीबीच हालै भएको एउटा अनुसन्धानले शरीरमा भिटामिन डीको कमी हुँदा मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पर्न सक्ने देखाएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार पर्याप्त भिटामिन डीले मस्तिष्कलाई राम्रोसँग काम गर्न र मनलाई शान्त राख्न सहयोग पुर्याउन सक्छ ।
मस्तिष्कका लागि किन आवश्यक छ भिटामिन डी ?
भिटामिन डी सामान्यतया हड्डी बलियो बनाउन आवश्यक मानिन्छ । तर अनुसन्धानले यसले मस्तिष्कको कार्यप्रणालीमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ ।
विशेषज्ञहरूका अनुसार भिटामिन डीले शरीरमा हर्मोनजस्तै काम गर्छ र भावना, तनाव तथा मुड नियन्त्रण गर्ने मस्तिष्कका भागहरूलाई असर गर्छ । यसले शरीरमा खुसी महसुस गराउने रसायनहरूको सन्तुलन कायम राख्न मद्दत गर्ने भएकाले यसको कमी हुँदा मानसिक अवस्था प्रभावित हुन सक्छ ।
चिन्ता र तनावमा कसरी असर गर्छ ?
केही अध्ययनहरूमा भिटामिन डीको कमी भएका मानिसहरूमा चिन्ता र बेचैनीका लक्षण बढी देखिएको पाइएको छ । डाक्टरको सल्लाहअनुसार भिटामिन डी सेवन गरेका व्यक्तिहरूमा भने तनाव र चिन्ता कम भएको अनुभव गरिएको उल्लेख गरिएको छ ।
लामो समयसम्म गरिएको अध्ययनमा पर्याप्त भिटामिन डी भएका व्यक्तिहरूको मुडमा सुधार आएको देखिएको थियो । यद्यपि, विज्ञहरूले यसलाई मानसिक समस्याको एकमात्र उपचार भने मानेका छैनन् ।
डिप्रेसनसँग पनि देखियो सम्बन्ध
अनुसन्धानले भिटामिन डीको कमी र डिप्रेसनबीच बलियो सम्बन्ध हुन सक्ने संकेत गरेको छ । कम भिटामिन डी भएका व्यक्तिहरूमा डिप्रेसनको जोखिम बढी देखिएको अध्ययनहरूले जनाएका छन् ।
विशेषज्ञहरूका अनुसार भिटामिन डीले मस्तिष्कका कोषहरूको विकास र कार्यप्रणालीमा मद्दत गर्छ । यसको कमी हुँदा थकान, कमजोरी, उदासी र ऊर्जा कमी जस्ता समस्या देखिन सक्छन् ।
शरीरमा भिटामिन डी कसरी बढाउने ?
– बिहानको हल्का घाममा केही समय बस्ने
– अण्डा, च्याउ, दूध तथा भिटामिन डीयुक्त खानेकुरा सेवन गर्ने
– आवश्यक परे चिकित्सकको सल्लाहअनुसार सप्लिमेन्ट प्रयोग गर्ने
बेवास्ता नगर्न चिकित्सकको सुझाव
विशेषज्ञहरूका अनुसार लामो समयसम्म तनाव, चिन्ता वा उदासी महसुस भइरहेमा त्यसलाई सामान्य समस्या भनेर बेवास्ता गर्नु हुँदैन । आवश्यक परे चिकित्सकसँग परामर्श लिनु महत्त्वपूर्ण हुन्छ ।
भिटामिन डीले मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पुर्याउन सक्छ, तर स्वस्थ जीवनशैली, पर्याप्त निद्रा, सन्तुलित आहार र उचित उपचार पनि उत्तिकै आवश्यक हुने विज्ञहरूको भनाइ छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्