काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउत यस वर्ष बहुमूल्य मानिने बुद्धचित्तको आम्दानी घट्ने चिन्तामा छन्। घरबारी र तल्लोबारीमा रहेका सात बोटमा लटरम्म फले पनि वैशाखमा परेको असिना–पानीका कारण दानामा दाग लागेपछि गुणस्तर खस्किने डर बढेको छ।

गत वर्ष सोही बोटबाट करिब तीन लाख रुपैयाँ आम्दानी गरेका राउतले यसपालि उत्पादन बढे पनि मूल्य घट्ने संकेत देखिएको बताए। उनका अनुसार व्यापारीहरूले पनि गत वर्षजस्तो मूल्य नदिने बताएका छन्।

छिमेकी कृष्णबहादुर राउत र गुञ्जबहादुर लामासहित अन्य किसान पनि उस्तै समस्यामा छन्। असिनाका कारण दानामा कालो दाग लागेपछि बजार मूल्य घट्ने चिन्ता उनीहरूमा बढेको छ।

बुद्धचित्त धार्मिक रूपमा प्रयोग हुने बहुमूल्य दाना हो, जसलाई बौद्ध धर्मावलम्बीहरूले जपमाला र धार्मिक कार्यमा प्रयोग गर्छन्। रोशी र तेमाल क्षेत्रमा यसको व्यावसायिक खेती हुँदै आएको छ।

यस वर्ष असिनाले दानामा क्षति पुर्‍याएपछि किसानहरू आम्दानी घट्ने र बजार मूल्य कमजोर हुने चिन्तामा परेका छन्। गत वर्ष जस्तै उच्च मूल्य नपाउने अवस्था देखिएपछि किसानहरू तनावमा छन्।

काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा पनि बुद्धचित्त खेती विस्तार हुँदै आएको छ। केही वर्षयता यसको कारोबार करोडौं रुपैयाँसम्म पुगेको स्थानीय तथ्याङ्कले देखाएको छ।