सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट आएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा तथा कास्कीको हेम्जा क्षेत्रबाट गएराति ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

सवारीसाधन नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत तथा नं २४ कालिका गण कास्कीबाट विशेष सुरक्षा टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको भन्सार प्रक्रिया, आयात कागजात तथा राजस्व सम्बन्धी विवरणको थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसैबीच, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट पनि दुई वटा सवारीसाधन नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरी बलले जनाएको छ।