अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिबारदेखि सुरु भएको छ।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले तथा बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. लम्सालले अनेसास नेपाली भाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसद्का रूपमा स्थापित भएको बताए। उनले नेपालको सीमाभन्दा बाहिर रहेका नेपाली स्रष्टाहरूले सिर्जना गरेको साहित्यबिना नेपाली भाषा र साहित्य अधुरो रहने धारणा व्यक्त गरे।
सम्मेलनका अवसरमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, साहित्यकार डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल तथा आचार्य राजनलाई सम्मान गरिएको थियो।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सम्मेलन संयोजक तथा अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका थिए।
सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, ‘नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका’ लगायत विभिन्न विषयमा विशेष सत्र तथा छलफल आयोजना गरिएको छ।
सम्मेलनमा नेपाल, अमेरिका तथा युरोपलगायत विभिन्न देशबाट साहित्यकार, लेखक, पत्रकार र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी छन्।
कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, देउडा गायक नन्दकृष्ण जोशी, अङ्ग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, पत्रकारहरू राधेश्याम लेकाली, सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ तथा नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारीलगायत करिब २०० जनाको सहभागिता रहेको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्