नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै गिनिज विश्व कीर्तिमान बनाउने तयारीमा जुटेकी छन्।

नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै विश्व कीर्तिमानतर्फ अग्रसर भएकी हुन्।

हाल अमेरिकाको गोशेन कलेजमा चलचित्र र नाट्य विषय अध्ययन गरिरहेकी उरुषाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै ‘डिन्स लिस्ट’मा स्थान बनाउन सफल भएकी छन्। उनले ४.० जिपिए कायम राख्दै अध्ययन र कला दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताइएको छ।

नेपालबाट म्युजिक भिडियोमार्फत आफ्नो करियर सुरु गरेकी उरुषाले पछि मुम्बई पुगेर बलिउड मोडलिङ र विज्ञापन क्षेत्रमा समेत काम गरेकी थिइन्। उनी नेपाल र भारतका विभिन्न चर्चित पत्रिकाहरूको आवरणमा प्रकाशित भइसकेकी छन्।

अमेरिकामा पनि उनले अभिनय यात्रालाई निरन्तरता दिँदै विभिन्न नाटक तथा रंगमञ्चमा अभिनय गरिरहेकी छन्। अर्कान्सास राज्य विश्वविद्यालयमा अध्ययनका क्रममा उनले ‘ग्राउन्डेड’ नामक एकल नाटकमा अभिनय गरेर प्रशंसा बटुलेकी थिइन्।

त्यसैगरी विलियम सेक्सपियरको चर्चित नाटक रोमियो एन्ड जुलियट मा ‘जुलियट’ पात्रका लागि दर्जनौँ प्रतिस्पर्धीलाई पछि पार्दै छनोट हुन सफल भएकी थिइन्।

उरुषा अभिनयमा मात्र सीमित नभई लेखन, निर्देशन र निर्माण क्षेत्रमा पनि सक्रिय छिन्। उनका ‘टु फेस्ड’, ‘प्राइस अफ सोलिच्युड’, ‘हू इज सी ?’ र ‘वेलकम होम’ जस्ता परियोजनाहरू चर्चामा रहेका छन्।

उनले सन् २०२६ मे महिनादेखि ‘गिनिज विश्व कीर्तिमान श्रृङ्खला’ अभियान सुरु गर्ने घोषणा गरेकी छन्। यसअन्तर्गत २४ घण्टामा ३०० मोनोलग प्रस्तुत गर्ने, ‘कलाकार’ नामक एकल नाटकलाई लगातार धेरै दिनसम्म मञ्चन गर्ने, सबैभन्दा लामो भारतीय शैलीको नृत्य गर्ने तथा ‘सेल्फी चुनौती’मार्फत वर्तमान कीर्तिमानी अभिनेता अक्षय कुमार लाई चुनौती दिने योजना रहेको बताइएको छ।

यो अभियान सफल भएमा हलिउड अभिनेता डग जोन्स ले आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।

उरुषाले अमेरिकामा विद्यार्थी र कलाकारका रूपमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताउँदै नेपाली युवतीहरूले पनि विश्व मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्न सक्ने सन्देश दिन चाहेको उल्लेख गरेकी छन्।