काठमाडौँ । बाल्यकालमा खाइने खानाले दिमागको विकासमा कति गहिरो प्रभाव पार्छ भन्नेबारे हालै गरिएको एक वैज्ञानिक अध्ययनले चकित पार्ने तथ्य सार्वजनिक गरेको छ। अध्ययनअनुसार बाल्यकालमा अत्यधिक जङ्क फूड सेवन गर्दा दिमागको संरचनामा स्थायी परिवर्तन हुन सक्छ।
‘नेचर कम्युनिकेसन्स’मा प्रकाशित युनिभर्सिटी कलेज कर्कको अध्ययनले उच्च चिल्लो र उच्च चिनीयुक्त खाना नियमित रूपमा खाने बालबालिकामा दिमागको विकासमा दीर्घकालीन असर देखिएको जनाएको छ।
वैज्ञानिकहरूका अनुसार बाल्यकालमा पर्याप्त पोषण नपुगेका यस्ता खानाले भविष्यमा खाने बानीमै स्थायी परिवर्तन ल्याउन सक्छ। यसले विशेषगरी भोक नियन्त्रण गर्ने मस्तिष्कको भागलाई असर गर्ने अध्ययनमा उल्लेख गरिएको छ।
स्मरणशक्ति र एकाग्रतामा असर
अनुसन्धानले जङ्क फूडले केवल तौल बढाउने मात्र होइन, दिमागको कार्यप्रणालीलाई पनि कमजोर बनाउने देखाएको छ। अत्यधिक जङ्क फूड सेवनले स्मरणशक्ति, ध्यान केन्द्रित गर्ने क्षमता तथा नयाँ कुरा सिक्ने क्षमतामा नकारात्मक असर पार्न सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
यो अध्ययन मुसामा गरिएको परीक्षणमा आधारित थियो। जीवनको सुरुवाती चरणमा बोसो र चिनी बढी भएको खाना खुवाइएका मुसामा उमेर बढ्दै जाँदा खाने बानीमा स्थायी परिवर्तन देखिएको थियो।
हाइपोथ्यालेमसमाथि असर
अनुसन्धानकर्ताहरूले यो परिवर्तनलाई मस्तिष्कको ‘हाइपोथ्यालेमस’ भागसँग जोडेका छन्। हाइपोथ्यालेमसले भोक, ऊर्जा सन्तुलन र शरीरको विभिन्न जैविक प्रक्रियालाई नियन्त्रण गर्छ।
वैज्ञानिकहरूका अनुसार जङ्क फूडले यही भागको कार्यप्रणालीमा असर पार्दा भविष्यमा अस्वस्थ खानाप्रति आकर्षण बढ्न सक्छ।
के क्षति कम गर्न सकिन्छ?
अध्ययनले केही सकारात्मक संकेत पनि दिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार लाभदायक आन्द्राको ब्याक्टेरिया र प्रीबायोटिक फाइबरयुक्त खानाले जङ्क फूडबाट हुने केही नकारात्मक असर कम गर्न मद्दत गर्न सक्छ।
अध्ययनकी प्रमुख लेखक डा. क्रिस्टिना कुएस्टा–मार्टीले बाल्यकालको खानपिनले दीर्घकालीन स्वास्थ्यमा ठूलो भूमिका खेल्ने बताएकी छन्।
उनका अनुसार, “जीवनको सुरुवातमा हामीले के खान्छौँ भन्ने कुरा भविष्यको दिमागी स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।”


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्