चितवन, १४ असोज। बाढीबाट उद्धार गरिएको पोथी गैँडालाई सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका-४ पुर्‍याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो। उद्धार गरिएको गैँडा अन्दाजी पाँच वर्षको छ।

गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो। उद्धारपछि गैँडालाई ट्रकमा राखेर सौराहा ल्याइएको हो।

अरू वन्यजन्तु पनि बगेको आशंका

आधिकारिक रूपमा हालसम्म एउटा मात्र गैँडा नदीले बगाएको सूचना आए पनि अन्य गैँडासहित वन्यजन्तु पनि बगेको हुनसक्ने अनुमान गरिएको छ।

२०७४ मा १२ गैँडा भारतबाट ल्याइएका थिए

यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीले पनि केही गैँडा बगाएर भारतीय भूमिमा पुर्‍याएको थियो। तत्कालीन निकुञ्ज प्रमुख संरक्षण अधिकृत सहसचिव डा. रामचन्द्र कँडेलका अनुसार त्यस बेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी फिर्ता ल्याइएको थियो।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा गैँडा छन्।