लमजुङ, १५ असोज। लगातारको वर्षा र बाढीका कारण अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्डमा यातायात आवागमन सामान्य भएको छ।
वर्षा र बाढीले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै कटान भएकाले केही दिनदेखि यातायात सञ्चालनमा समस्या भएको थियो।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार मर्स्याङ्दी गाउँपालिका–४ रामबजारलगायत लमजुङतर्फका क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। हाल बेँसीसहरदेखि मनाङको खोत्रो नजिकसम्म सवारीसाधन सञ्चालन भइरहेका छन्।
“लमजुङतर्फको सडक अहिले सञ्चालनमा आएको छ। क्षतिग्रस्त स्थानमा पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो,” सूचना अधिकारी विष्टले भने।
खोत्रोमाथि अझै अवरुद्ध
मनाङको नासोँ गाउँपालिका–३ खोत्रोदेखि माथिल्लो क्षेत्रमा भने सडक अझै सञ्चालनमा आउन सकेको छैन। वर्षाका कारण विभिन्न स्थानमा सडक नै भासिएको तथा पहिरो र कटानले क्षति पुर्याएको आयोजनाले जनाएको छ।
खोत्रोमा ठूला-ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक खुलाउन कठिन भएको विष्टले जानकारी दिए। ठूला ढुङ्गा हटाउन ब्लास्टिङ गर्नुपर्ने अवस्था रहेकाले प्राविधिक टोली परिचालन गरी काम अघि बढाइएको उनले बताए।
तीन डोजर परिचालन
आयोजनाका दुई डोजरसहित थप एक डोजर परिचालन गरी माथिल्लो र तल्लो क्षेत्रमा आवश्यकताअनुसार सडक खुलाउने र मर्मत गर्ने काम भइरहेको छ।
“विभिन्न स्थानमा अझै समस्या छ। सात-आठ ठाउँमा सडक भासिएको छ,” विष्टले भने।
मौसममा सुधार आएसँगै अवरुद्ध सडक खुलाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोजनाले जनाएको छ।
करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई लमजुङ हुँदै अन्य जिल्लासँग जोड्ने मुख्य सडक हो



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्