हेटौँडा — बागमती प्रदेश सरकारले क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि संघीय सरकारसँग एक अर्ब रुपैयाँ माग्ने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
प्रदेश सरकारले पछिल्लो समय क्षतिग्रस्त सरकारी संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ।
संगठन सर्वेक्षण प्रतिवेदन स्वीकृत
बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालय तथा निकायहरूको संगठन सर्वेक्षण प्रतिवेदन पनि स्वीकृत गरेको सरकारका प्रवक्ता भरतबहादुर केसीले जानकारी दिए। संगठन संरचना र जनशक्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन यो प्रतिवेदन तयार पारिएको थियो।
अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ। साथै, नियमित रूपमा काम गरिरहेका अस्थायी कर्मचारीको दरबन्दीलाई नियमित प्रक्रियाअनुसार स्वीकृत गर्ने निर्णय पनि भएको छ।
सचिवहरूको जिम्मेवारी हेरफेर
बैठकले प्रदेशका विभिन्न मन्त्रालय र निकायका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। कतिपय सचिवलाई मन्त्रालयको र कतिपयलाई विषयगत क्षेत्रको जिम्मेवारी तोकिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्