काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज मंगलबार र भोलि बुधबार मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुन सक्नेछ भने बिहीबार भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

मंगलबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार राति कोसी र वाग्मती प्रदेशका पहाडी भू-भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

त्यस्तै, बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा मधेस प्रदेश र कोसी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बुधबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

बिहीबार राति भने कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण केही स्थानमा सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।