काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति आलोचना गर्दै ‘फासीवादी’ प्रवृत्ति देखिएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारको पछिल्लो गतिविधि र राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पूर्वप्रधानन्यायाधीशसँग सम्बन्धित पछिल्ला घटनाक्रमसम्म पुगेको टिप्पणी गरे।
थापाले सरकारलाई लोकतान्त्रिक मार्गमा फर्किन, संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउन आग्रह गरे।
सुशासन र सम्पत्ति छानबिनको नाममा देशभक्त शक्ति, सञ्चारकर्मी, नागरिक अभियन्ता तथा व्यवसायीहरूलाई निशाना बनाइएको उनको आरोप थियो। साथै, पछिल्लो ६ महिनामा संसद् सत्ता पक्षको छायाजस्तो बनेको र प्रतिपक्षका सुझावलाई पर्याप्त स्थान नदिइएको उनले दाबी गरे।
कानुन निर्माणका क्रममा संवाद र सहमतिभन्दा सत्ता पक्षले आफ्नो संख्या र शक्तिका आधारमा निर्णय अघि बढाएको आरोप पनि थापाले लगाए। उनले प्रतिपक्षलाई सरकारको सहयोगी भूमिकामा हेर्नुपर्नेमा बाधकका रूपमा बुझिएको धारणा राखे।
थापाले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै राजनीतिक सहमतिका लागि पर्याप्त पहल हुन नसकेको बताए। पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने प्रयास गर्नु तथा सत्तापक्षकै केही सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भने सकारात्मक संकेत भएको उनले बताए।
भदौ १० गतेको महाविपद्पछि सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको र विदेशी सहायता लिन ढिलाइ गरिएको आरोप पनि थापाले लगाए। यी विषयहरू सरकारको कार्यशैलीप्रति उनको राजनीतिक आलोचनाका रूपमा प्रस्तुत भएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्