आज ७३औँ सगरमाथा आरोहण दिवस तथा १८औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। सन् १९५३ मे २९ मा विश्वकै सर्वोच्च शिखर Mount Everest मा पहिलो सफल आरोहण भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइँदै आएको हो। उक्त दिन बिहान ११ बजेर १५ मिनेटमा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको शिखर चुमेका थिए।

हिलारीको सन् २००८ जनवरी ११ मा निधन भयो भने तेन्जिङ नोर्गे शेर्पाले सन् १९८६ मे ९ मा देह त्याग गरेका थिए। हिलारीको निधनको स्मरणमा सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको हो।

यस वर्ष “विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव” नारासहित दिवस मनाइँदैछ। तर, पर्वतारोहण क्षेत्रसँग जोडिएका गाइडहरूको अवस्था, सुरक्षा र भविष्यबारे भने गम्भीर प्रश्न उठिरहेका छन्।

वर्षौंदेखि अनुभवी माउन्टेन गाइडहरूले हिमालमा काम गर्ने जनशक्तिको अवस्था सुधार गर्न राज्यको ध्यान नपुगेको गुनासो गर्दै आएका छन्। अन्तर्राष्ट्रिय माउन्टेन गाइड अविरल राईका अनुसार पछिल्लो ७ वर्षदेखि नेपालमा आधारभूत र एड्भान्स माउन्टेनेरिङ कोर्स सञ्चालन नभएकाले दुर्घटना जोखिम बढेको छ।

उनका अनुसार पर्याप्त तालिम नभएकै कारण हिमालमा दुर्घटनाको जोखिम बढिरहेको छ। नेपाल माउन्टेन एसोसिएसनसँग सहकार्य गरेर सरकारले नियमित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने उनी बताउँछन्।

दोलखाका अनुभवी गाइड पासाङ किदार शेर्पाले भने स्वदेशमा कमाइले जीवन धान्न नसक्दा विदेश जान बाध्य भएको अनुभव सुनाए। नर्वे, अमेरिका लगायतका देशमा काम गर्दा सामाजिक सुरक्षा र पेन्सन सुविधा भए पनि नेपालमा त्यस्तो व्यवस्था नहुँदा समस्या बढेको उनी बताउँछन्।

गाइडहरूका अनुसार ३०–३५ लाख रुपैयाँ खर्च हुने अन्तर्राष्ट्रिय कोर्स सहज नभए पनि लगानीको प्रतिफल स्वदेशमा नपाइने अवस्था छ। यही कारण दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएको छ।

पिम्बा तेन्जिङ लामाका अनुसार सरकारी कार्यक्रमहरू औपचारिकतामा सीमित छन्। गाइडहरूको ज्याला, बीमा र सामाजिक सुरक्षामा ठोस सुधार नभएसम्म यो क्षेत्र सुरक्षित हुन नसक्ने उनी बताउँछन्।

नुवाकोटका पर्यटनकर्मी विवेक पाण्डेले पनि हेलिकप्टर रेस्क्यु, बीमा र स्वास्थ्य उपचारका लागि छुट्ट्याइएको बजेट अपर्याप्त रहेको बताए।

नेपालको पर्यटनको मुख्य आधार सगरमाथा हो भने त्यसका वास्तविक आधार माउन्टेन गाइडहरू हुन्। उनीहरूले देशको पहिचान विश्वसामु पुर्‍याइरहेका छन्, तर आफ्नै भविष्य भने अनिश्चित देखिन्छ।

विशेषज्ञहरूले सगरमाथा दिवसलाई केवल उत्सवमा सीमित नराखी गाइडहरूको सुरक्षा, तालिम, बीमा र सामाजिक सुरक्षासम्बन्धी नीतिगत सुधारतर्फ केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन्।