काठमाडौं, १४ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका विषयमा नेपाल र भारत दुवै पक्ष सकारात्मक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने अहिलेसम्म तय नभएको बताए।

'प्रधानमन्त्रीज्यूको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको छ। उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइसकेको छैन,' उनले भने।

मन्त्री खनालका अनुसार सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई भ्रमणको निम्तो प्राप्त भएको थियो। उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष छलफलमा रहेको उनले जानकारी दिए।

सरकार गठन भएपछि प्राथमिकताका आधारमा भारत र चीन भ्रमण गरेर दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरिएको पनि उनले बताए।

महासभामा उठ्यो भोटेकोशी बाढी र 'हिमालयन सुनामी'

परराष्ट्रमन्त्री खनालका अनुसार महासभाका क्रममा विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरी नेपालको राष्ट्रिय हितका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

महासभामा नेपालले हालै भोगेको भोटेकोशी बाढीपछिको विपद् अवस्था, जलवायु परिवर्तनका कारण देखिएका चुनौती र पुनर्निर्माणका विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको उनले बताए। जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्यालाई 'हिमालयन सुनामी' का रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराइएको उनको भनाइ छ।

अब नेपालले आपत्कालीन राहतमा मात्र सीमित नभई क्षति न्यूनीकरणका लागि जलवायु वित्त र क्षतिपूर्ति कोषको प्रभावकारी परिचालनमा जोड दिएको उनले बताए।

प्रधानमन्त्रीको सम्बोधन 'सबैभन्दा बढी हेरिएकामध्ये एक'

महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले गरेको सम्बोधनले नेपालको विषयलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरेको मन्त्री खनालको दाबी छ। उनका अनुसार प्रधानमन्त्रीको सम्बोधन यस वर्षको महासभामा सबैभन्दा बढी हेरिएका र चासो लिइएका सम्बोधनमध्ये एक बनेको छ।

सम्बोधनपछि विभिन्न अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले त्यसमा उठाइएका विषयको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएको उनले बताए।

तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध

महासभाका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८८ पुगेको छ। विभिन्न देशसँग कूटनीतिक तथा सेवा राहदानीवाहकका लागि भिसा छुटसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ।