निर्वाचन निष्पक्ष बनाउन सरकारको भूमिका महत्त्वपूर्ण : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी सरकारको रहेको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनका विषयमा राजनीतिक दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन आयोगको आफ्नै जिम्मेवारी भए पनि निष्पक्ष निर्वाचनको वातावरण निर्माणमा सरकारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताएका हुन् ।
उनले निर्वाचनका समयमा सरकारले प्रतिपक्षसहित सबै राजनीतिक दललाई समान रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिए । अन्य समयमा सरकारले प्रतिपक्षलाई बेवास्ता गरे पनि निर्वाचनको समयमा त्यसो गर्न नमिल्ने उनको भनाइ थियो ।
थापाले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्राविधिक तथा प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने भए पनि समग्र निर्वाचनको वातावरण तयार पार्ने दायित्व सरकारको समेत हुने स्पष्ट पारे ।
उनका अनुसार निर्वाचन आयोगले निर्वाचनको तयारीसँगै शान्तिपूर्ण र निष्पक्ष वातावरण निर्माणका लागि सरकारले गर्नुपर्ने कामबारे समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्छ ।
भदौ २३ र २४ को अप्रत्याशित घटनापछि उत्पन्न राजनीतिक रिक्तताका बीच निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको छलफल र समन्वय महत्त्वपूर्ण रहेको उदाहरण दिँदै उनले निर्वाचन सफल बनाउन सरकार र आयोगबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले र कसरी गराउने भन्ने विषय संविधानमा व्यवस्था भएअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै निर्वाचनको तयारी र व्यवस्थापनमा व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने बताए ।
सभापति थापाले निर्वाचनको सम्पूर्ण जिम्मेवारी आयोगमाथि मात्रै थोपर्न नहुने र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारले आफ्नो दायित्व प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्