कांग्रेस रुकुम पश्चिमले दुई महिनापछि सार्वजनिक गर्‍यो प्रदेश प्रतिनिधि र कार्यसमितिको विवरण

नेपाली कांग्रेस रुकुम पश्चिमले १५औँ महाधिवेशनअन्तर्गत चयन भएका प्रदेश प्रतिनिधि तथा प्रदेश क्षेत्रीय कार्यसमितिको विवरण करिब दुई महिनापछि सार्वजनिक गरेको छ।

गत असोज १२ गते सम्पन्न निर्वाचन प्रक्रियाबाट चयन भएका प्रतिनिधि तथा कार्यसमितिको विवरण हाल सार्वजनिक गरिएको हो। जिल्ला निर्वाचन अधिकृत अधिवक्ता किशोर पौडेलले उपलब्ध गराएको विवरणअनुसार दुवै प्रदेश निर्वाचन क्षेत्रमा सहमतिका आधारमा प्रतिनिधि तथा कार्यसमिति चयन गरिएको छ।

सार्वजनिक विवरणअनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट २७ जना र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट २८ जना गरी कुल ५५ जना प्रदेश प्रतिनिधि चयन भएका छन्।

प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट खुलातर्फ तारकबहादुर शाही, शम्भुप्रसाद शर्मा, कमलकुमार शाही, केशव खड्कालगायत चयन भएका छन्। खुला महिलातर्फ कविता बोहोरा र हिरा गहतराज प्रतिनिधि बनेका छन्। अन्य विभिन्न समावेशी समूहबाट पनि प्रतिनिधि चयन गरिएको छ।

त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट खुलातर्फ प्रेमबहादुर ओली, नरजंग ओली, तुलवीर ओली, दलबहादुर खत्रीलगायत चयन भएका छन्। खुला महिलातर्फ सुशीला खड्का र बासना गिरी प्रतिनिधि बनेका छन्। अन्य समावेशी समूहबाट समेत प्रतिनिधि चयन गरिएको विवरणमा उल्लेख छ।

दुवै क्षेत्रमा कार्यसमिति चयन

प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा अमृत बोहरा चयन भएका छन्। सचिवमा दिनेश खड्का, सहसचिवमा भागिराम बोहोरा र कोषाध्यक्षमा जयबहादुर थापा चयन भएका छन्। उक्त क्षेत्रमा दुई उपसभापति पद रिक्त रहेका छन्।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा तुलसीराम बुढा चयन भएका छन्। उपसभापतिमा केशव केसी, सचिवमा गोवर्धन ओली, सहसचिवमा प्रकाश डाँगी र दीपा डाँगी तथा कोषाध्यक्षमा नरेन्द्र मल्ल चयन भएका छन्। उक्त क्षेत्रमा महिलातर्फको उपसभापति पद रिक्त रहेको छ।

करिब दुई महिनासम्म सार्वजनिक नभएको प्रतिनिधि तथा कार्यसमितिको विवरण सार्वजनिक भएसँगै कांग्रेस रुकुम पश्चिमको प्रदेशस्तरीय संगठनात्मक संरचनाबारे स्पष्ट भएको छ।