प्रधानमन्त्रीको भारत भ्रमणदेखि भोटेकोशी बाढीपीडितलाई राहतसम्म, मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि भोटेकोशी बाढीपीडितका लागि चीनले उपलब्ध गराउने अनुदान स्वीकार गर्नेसम्मका सातवटा महत्त्वपूर्ण निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणलाई स्वीकृति दिएको हो। प्रधानमन्त्री शाह मंसिर ६ गते दुईदिने भारत भ्रमणमा जाने कार्यक्रम रहेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ‘र्यापिड क्रेडिट फेसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आवश्यक आदेश जारी गर्ने निर्णय पनि गरेको छ।
यस्तै, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गरिएको छ। ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्