मोदी–बालेनको संयुक्त तस्बिरसहित दिल्लीका सडकमा स्वागत बोर्ड

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका सडकमा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त तस्बिरसहित स्वागत बोर्ड राखिएको छ।

दिल्लीको जनपथमा राखिएको होर्डिङ बोर्डमा दुवै प्रधानमन्त्रीको तस्बिरसँगै हिन्दी र नेपाली भाषामा ‘भारतमा यहाँलाई स्वागत छ’ लेखिएको छ।

प्रधानमन्त्री शाह ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार दिउँसो १:४५ बजे नेपाल वायु सेवा निगमको विमानबाट भारत प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुईदिने राजकीय भ्रमणमा जान लागेका हुन्।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सोमबार मोदीसँग हैदराबाद हाउसमा हुने भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किनेछन्