मलानको अर्धशतकमा चितवनको बलियो ब्याटिङ, विराटनगरलाई १५८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट रंगशालामा टसपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो।
चितवनका लागि इङ्ल्यान्डका ब्याटर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलको सामना गर्दै पाँच चौका र पाँच छक्का प्रहार गरे। आन्द्रे रसेलको बलमा बोल्ड हुनुअघि मलानले टोलीको स्कोर उकास्न महत्त्वपूर्ण योगदान दिएका थिए।
त्यस्तै, रवि बोपाराले ३३ रन र डीआर मुस्लीले २९ रन जोडे। देव खनालले १२ रन बनाउँदा अर्जुन साउद तीन रनमा आउट भए।
चितवनका ब्याटरलाई रोक्न विराटनगरका बलरले निकै संघर्ष गर्नुपरेको थियो। नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्। प्रतिश जिसीले तीन ओभरमा २३ रन तथा रुपेश सिंहले दुई ओभरमा १८ रन खर्चिए।
अमेरिकी अलराउन्डर शुभम रञ्जनेले एक ओभरमा १७ रन दिए पनि विकेट लिन सकेनन्।
विराटनगरका लागि विदेशी खेलाडीले मात्रै विकेट लिन सफल भए। चरित असलंकाले तीन ओभरमा १८ रन खर्चेर एक विकेट लिए भने एन्जेलो म्याथ्युजले तीन ओभरमा १५ रन दिँदै एक विकेट हात पारे। आन्द्रे रसेलले चार ओभरमा ३९ रन खर्चेर एक विकेट लिए।
तीन विकेटको क्षतिमा १५७ रन बनाएको चितवनले अब विराटनगरसामु जितका लागि १५८ रनको लक्ष्य राखेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्