कप्तान कुशल मल्ल घाइते भएपछि रवि बोपाराको काँधमा चितवन राइनोजको नेतृत्व

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोज कप्तान कुशल मल्लविनै मैदान उत्रिने भएको छ। मल्ल घाइते भएपछि आजको खेलमा रवि बोपाराले टोलीको कप्तानी सम्हाल्ने भएका छन्।

कप्तान मल्लको अनुपस्थितिमा चितवनले बोपाराको नेतृत्वमा विराटनगरविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुवै टोली जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहँदा चितवनका लागि कप्तानको अनुपस्थिति चुनौतीपूर्ण बन्न सक्नेछ।

विराटनगर किंग्सविरुद्धको खेलका लागि चितवनको प्लेइङ–११ मा रिजन ढकाल, कमल सिंह ऐरी, देव खनाल, अर्जुन साउद, विवेक साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा, डाविड मालान, डान मौस्ले र टम टेलर रहेका छन्।

कप्तान मल्लको अनुपस्थितिमा चितवनले कस्तो प्रदर्शन गर्छ भन्ने चासो समर्थकमाझ रहनेछ।