रुकुम पश्चिममा घरबाट साढे पाँच लाख नगद र सुनको तिलहरी चोरीको आरोपमा १८ वर्षीय युवक पक्राउ
रुकुम पश्चिममा घरको कोठाभित्र राखिएको नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ का स्थायी बासिन्दा १८ वर्षीय गणेश कुमार राम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार राम रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० मा डेरा गरी बस्दै आएका थिए। उनीमाथि स्थानीय घमण्ड बहादुर बुढाको घरबाट पाँच लाख १५ हजार रुपैयाँ नगद र आठ आनाको सुनको तिलहरी चोरी गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार गत कात्तिक ४ गते त्रिवेणी गाउँपालिका–१० स्थित बुढाको घरको कोठामा राखिएको नगद र सुनको तिलहरी चोरी भएको थियो। घरबाट नगद तथा गहना हराएको जानकारी प्राप्त भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
घटनापछि आरोपित राम फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले वडा प्रहरी कार्यालय श्रीपुर, पर्सासँग समन्वय गरेको थियो। सोही समन्वयका आधारमा प्रहरीले कात्तिक ६ गते वीरगञ्ज महानगरपालिकाको लिङ्क रोड क्षेत्रमा खानतलासी गर्ने क्रममा उनलाई फेला पारेको हो।
प्रहरीले पक्राउ परेका रामको साथबाट चोरी भएको रकममध्ये दुई लाख छ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। त्यसैगरी, उनको साथबाट एक थान कीप्याड मोबाइल र एक थान सिमकार्डसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
चोरी भएको कुल रकममध्ये बरामद हुन बाँकी तीन लाख नौ हजार रुपैयाँ र आठ आनाको सुनको तिलहरीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका रामलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याइएको छ।
घटनामा चोरी भएको भनिएको नगद तथा सुनको गहनाको खोजी र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्