सिमरा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कम्तीमा १०० वटा विश्वस्तरीय माध्यमिक विद्यालय निर्माण वा रूपान्तरण गर्ने योजना अघि बढाइएको बताएका छन्।

विद्यालय छनोट गर्दा भूगोल, जनसङ्ख्या तथा विद्यार्थी–शिक्षक अनुपातलाई आधार बनाइने जनाइएको छ।

विदेशी विद्यार्थी आकर्षित गर्ने कार्यक्रम आवश्यक

सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन विदेशी विद्यार्थी आकर्षित गर्ने विशेष कार्यक्रम आवश्यक रहेको बताए।

उनले शैक्षिक गुणस्तरका साथै सीपमा आधारित र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

स्थानीय आवश्यकतासँग मेल खाने पाठ्यक्रम

मन्त्री पोखरेलका अनुसार शिक्षा नीति बनाउँदा स्थानीय आवश्यकता, बजार, संस्कृति र समाजको वास्तविकतासँग मेल खाने पाठ्यक्रम निर्माण गर्नुपर्छ।

सरकारले नयाँ ऐन र राष्ट्रिय पाठ्यक्रम प्रारूपमा समेत काम अघि बढाइरहेको जनाएको छ।