काठमाडौँ । निरन्तरको वर्षाका कारण काठमाडौँको टेकु कालोपुल क्षेत्रस्थित कोरिडोरको सडक डुबानमा परेको छ।
नदीमा पानीको बहाव बढेपछि सो क्षेत्रको सडक जलमग्न हुँदा सवारीसाधन तथा पैदल यात्रुको आवतजावतमा समस्या भएको छ। लगातार वर्षा भइरहेकाले काठमाडौँ उपत्यकाका अन्य नदी तथा तटीय क्षेत्रका सडकमा समेत डुबानको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ प्रदेश आसपास रहेको बलियो न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा परेको छ।
उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको विभागले जनाएको छ।
मौसमको वर्तमान अवस्था हेर्दा देशभर अधिकांश क्षेत्रमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी किनार तथा कोरिडोर क्षेत्रमा पानीको सतह बढ्ने र डुबानको जोखिम थप बढ्न सक्ने देखिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्