काठमाडौँ, ७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीको खोजी कार्य निरन्तर भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बाढीबाट भएको मानवीय तथा ऊर्जा क्षेत्रको क्षति, हालसम्म भएका प्रयास र आगामी योजनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले सुरुङमा हराइरहेकाहरूको खोजी नेपाली सेना र विदेशी विज्ञको समन्वयमा भइरहेको जानकारी दिए।

उनका अनुसार बाढीपछि नेपाल विद्युत् प्राधिकरण तथा अन्य जलविद्युत् आयोजनाका करिब ९०० जना बेपत्ता रहेको विवरण छ। सुरुङभित्रको कठिन अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बने पनि सम्बन्धित निकायको समन्वयमा उद्धार तथा खोजीलाई निरन्तरता दिइएको उनले बताए।