काठमाडौँ। नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का काठमाडौँ–५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

पुडासैनीसँग ३१ मतको अन्तरले हार
प्रजातन्त्र सेनानी–सहिद परिवार–द्वन्द्व प्रभावित कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा उत्रिएका खड्का ठाकुरप्रसाद पुडासैनीसँग पराजित भएका हुन्। पुडासैनी १३२ मत ल्याएर निर्वाचित हुँदा खड्काले १०१ मत मात्रै प्राप्त गरे।

एक जना मात्र चुनिने उक्त कोटामा ५ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो, जसमा खड्का दोस्रो स्थानमा रहे।

ज्येष्ठ सदस्यको हैसियतमा गरेका थिए अध्यक्षता
८८ वर्षीय खड्काले ज्येष्ठ सदस्यको हैसियतमा कांग्रेसको विशेष महाधिवेशनको अध्यक्षता गरेका थिए। विशेष महाधिवेशनको नेतृत्व गरेका नेता नै आफ्नै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पराजित हुनुलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।

गङ्गा सुनार पनि पराजित
काठमाडौँ–५ बाटै कांग्रेस केन्द्रीय सदस्य गङ्गा सुनार पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।