महेन्द्रनगर (धनुषा)
: सशस्त्र प्रहरी बल नेपाल र जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा नगरप्रहरीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार तथा प्राथमिक प्रतिकार्यसम्बन्धी विस्तारित तालिम प्रदान गरिएको छ।समुदायस्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको हो। तालिम समापन समारोहलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्न प्रभावकारी रूपमा प्रयोग गर्न नगरप्रहरीलाई आग्रह गर्नुभयो।

उहाँले विपद्को समयमा उद्धार, राहत वितरण, जनचेतना अभिवृद्धि, जोखिम न्यूनीकरण तथा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सके जनधनको क्षति उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, डुबान, आगलागी, चट्याङ तथा सडक दुर्घटनाजस्ता विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमले समुदायलाई विपद्सँग जुध्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर विष्टले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार तथा नागरिक सेवामा निरन्तर योगदान दिँदै आएको बताउनुभयो।तालिममा जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत ५ जना अग्नि नियन्त्रक र ११ जना नगरप्रहरी सहभागी भएका थिए। तालिममार्फत उनीहरूलाई विपद्का समयमा प्रभावकारी उद्धार, प्राथमिक प्रतिकार्य तथा समन्वयात्मक कार्यसम्पादनका लागि आवश्यक व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्