सुर्खेत : दैलेखको कर्णाली राजमार्गअन्तर्गत साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाको १२ दिन बितिसक्दा पनि नदीमा बेपत्ता भएको गाडी र सहचालकको अवस्था अझै अज्ञात रहेको छ। सुरक्षा निकायले गोताखोर, ड्रोन, सोनार क्यामरा, म्याग्नेट तथा हेलिकप्टरको प्रयोग गरेर खोजी कार्य सञ्चालन गरे पनि हालसम्म गाडी र सहचालक रामप्रसाद सुवेदीको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। गाडी सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो।

दुर्घटनामा सवार पाँच जनामध्ये कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परे पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।गाडीसँगै नदीमा बेपत्ता भएका मेगे तिरुवा, सिर्जना र चालक तुलाराम सुवेदीको शव विभिन्न स्थानमा भेटिएको छ। तर चालकका भाइ तथा सहचालक रामप्रसाद सुवेदी र दुर्घटनाग्रस्त गाडी अझै फेला परेका छैनन्।दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार लगातारको वर्षा र कर्णाली नदीको बढ्दो बहावका कारण खोजी कार्य निकै कठिन बनेको छ। त्यसैकारण अधिकांश प्राविधिक टोली, नेपाली सेना तथा प्रहरीका विशेष टोली फिर्ता भइसकेका छन् भने सीमित संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी मात्र निगरानीमा खटिएका छन्।

घटनापछि सशस्त्र प्रहरीको सुर्खेत बाहिनीबाट गोताखोर टोली, ड्रोन क्यामरासहितको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको विशेष टोली परिचालन गरिएको थियो। साथै नेपाली सेनाको हेलिकप्टरबाट समेत हवाई खोजी गरिएको भए पनि कुनै सफलता हात लागेको छैन।प्रमुख जिल्ला अधिकारी सारुले धमिलो पानीका कारण सोनार क्यामराले अपेक्षित रूपमा काम गर्न नसकेको र नदीको बहाव अझै तीव्र भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको जानकारी दिनुभयो।

हालसम्म फेला परेका तीनवटै शव सुरक्षा निकायले नभई नदी किनारका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उद्धार गरिएको थियो। प्रशासनले नदीको बहाव सामान्य भएपछि आवश्यकताअनुसार पुनः विशेष खोजी टोली परिचालन गरिने जनाएको छ।