भक्तपुर, ३० असार : भक्तपुरको सूर्यविनायक नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ। शुक्रबार नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा उक्त घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा नगरप्रमुख थापाले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको उल्लेख गर्दै नगर क्षेत्रमा बसोबास गर्ने पाँच वर्षमुनिका सबै बालबालिकाले शतप्रतिशत खोप प्राप्त गरेको बताउनुभयो।

उहाँले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दीगो बनाउन थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नगरपालिकाले निरन्तर लगानी बढाउँदै आएको बताउनुभयो। नगरप्रमुख थापाले स्वास्थ्य क्षेत्र नगरपालिकाको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै नगर अस्पतालमार्फत नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो। साथै स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल भएको उहाँको भनाइ थियो।कार्यक्रममा नगरपालिकाका प्रवक्ता, सामाजिक शाखाका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानअन्तर्गत जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरी खोप लगाउन सफल भएको जानकारी दिनुभयो। आगामी वर्षहरूमा पनि खोप अभियानलाई निरन्तरता दिँदै सबै बालबालिकाले समयमै खोप पाउने सुनिश्चितता गरिने उहाँले बताउनुभयो।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न विगत एक वर्षदेखि सञ्चालन गरिएको खोप तथा खोज अभियान प्रभावकारी भएको बताउँदै यस क्रममा खोप लगाउन छुटेका आठ जना बालबालिकालाई समेत पूर्ण खोप दिलाइएको जानकारी दिनुभयो।नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईंका अनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कअनुसार नगर क्षेत्रमा १५ महिनासम्मका १ हजार ७५० जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। यस अवधिमा ड्रपआउट संख्या एक जना रहेको छ भने १६ देखि २३ महिनासम्मका १ हजार ३२९ जना बालबालिकाले पनि पूर्ण खोप प्राप्त गरेका छन्।
नगरपालिकाले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दीगो बनाउन नियमित अनुगमन, घरदैलो खोज तथा खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्