काठमाडौं, ३० असार : आज २०८३ साल असार ३० गते मंगलबार अर्थात् सन् २०२६ जुलाई १४। आज असार कृष्ण पक्षको औँसी तिथि परेको छ। हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान् श्रीगणेशको पूजा–आराधना, व्रत तथा मन्त्र जपका लागि अत्यन्त शुभ दिन मानिन्छ।धार्मिक मान्यताअनुसार कुनै पनि शुभ कार्यको प्रारम्भ भगवान् गणेशको पूजा गरेर गरिन्छ। भगवान् गणेशलाई बुद्धि, ज्ञान, सफलता तथा विघ्नबाधा हटाउने देवताका रूपमा पूजा गरिन्छ। मंगलबार श्रद्धा र भक्तिपूर्वक गणेशको आराधना गरे सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास छ।

गणेश पूजा गर्ने विधि

शास्त्रमा भगवान् गणेशको पूजा १६ उपचार (षोडशोपचार) अनुसार गर्ने उल्लेख छ। यसमा आह्वान, आसन, पाद्य, अर्घ्य, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती तथा परिक्रमा समावेश छन्। पूजा गर्नुअघि शुद्ध मनले संकल्प लिएर भगवान् गणेशको ध्यान गर्नु उत्तम मानिन्छ।

मंगलबार के नगर्ने?

धर्मशास्त्रअनुसार मंगलबार केही कार्य नगर्न सुझाव दिइएको छ।

कुखुरा वा अन्य पक्षीको हत्या नगर्ने।

माछा तथा मासु सेवन नगर्ने।

मदिरा सेवन नगर्ने।

क्रोध, हिंसा र नकारात्मक व्यवहारबाट टाढा रहने।

धार्मिक विश्वासअनुसार यस्ता कार्यले जीवनमा समस्या, आर्थिक हानि तथा मानसिक अशान्ति निम्त्याउन सक्छ।

किन चढाइन्छ लड्डु?

भगवान् गणेशलाई लड्डु सबैभन्दा प्रिय नैवेद्य मानिन्छ। पद्मपुराणमा वर्णित कथाअनुसार माता पार्वतीले अमृतबाट बनेको दिव्य लड्डु आफ्ना दुई पुत्र गणेश र कुमारमध्ये सबैभन्दा श्रेष्ठलाई दिने घोषणा गर्नुभएको थियो।

कुमार सबै तीर्थको भ्रमणमा निस्किए भने गणेशले आफ्ना माता–पिताकै परिक्रमा गरेर सबै तीर्थको पुण्य प्राप्त हुने भाव व्यक्त गर्नुभयो। उहाँको मातापिताप्रतिको भक्ति देखेर पार्वतीले लड्डु गणेशलाई अर्पण गर्नुभयो। त्यसयता लड्डु गणेशजीको प्रिय प्रसादका रूपमा मानिँदै आएको छ।

भगवान् गणेशका विशेष नाम

'ग' को अर्थ बुद्धि र 'ण' को अर्थ ज्ञान मानिन्छ। त्यसैले गणेशलाई बुद्धि र ज्ञानका देवता मानिन्छ।

उहाँका प्रमुख नामहरू:

विघ्नेश्वर (विघ्नबाधा हटाउने)

विनायक (सर्वश्रेष्ठ नायक)

गजानन

एकदन्त

लम्बोदर

गणाध्यक्ष

गणेश पूजा गर्दा जप्नुपर्ने ११ मन्त्र

१. श्री गणेशाय नमः

२. ॐ श्री गणेशाय नमः

३. गं गणपतये नमः

४. ॐ गं गणपतये नमः

५. ॐ गं ॐ गणाधिपतये नमः

६. ॐ सिद्धि विनायकाय नमः

७. ॐ गजाननाय नमः

८. ॐ एकदंताय नमो नमः

९. ॐ लम्बोदराय नमः

१०. ॐ वक्रतुंडाय नमो नमः

११. ॐ गणाध्यक्षाय नमः

धार्मिक विश्वासअनुसार यी मन्त्र श्रद्धापूर्वक जप गर्दा भगवान् श्रीगणेश प्रसन्न भई बुद्धि, ज्ञान, सफलता तथा जीवनका विघ्नबाधा हटाइदिने कृपा प्रदान गर्नुहुन्छ।