युरोपेली युनियन (ईयू) ले गाजाको प्रारम्भिक सुधार, पुनःस्थापना तथा पुनर्निर्माणलाई सहयोग पुर्याउने उद्देश्यले ८८ करोड ३६ लाख युरो बराबरको प्रारम्भिक सहयोगसहित ‘टीम गाजा इनिसिएटिभ’ सुरु गरेको घोषणा गरेको छ। ईयूले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेल्जियमको ब्रसेल्समा आयोजित प्यालेस्टाइन दाता समूह (पीडीजी) को बैठकका क्रममा उक्त पहल सार्वजनिक गरिएको हो। यसको उद्देश्य गाजाका जनताका लागि सञ्चालन भइरहेका तथा आगामी दिनमा कार्यान्वयन गरिने प्रारम्भिक सुधार, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी परियोजनाहरूलाई प्रभावकारी रूपमा सहयोग गर्नु रहेको जनाइएको छ।

ईयूका अनुसार यस पहलमा युरोपेली युनियनसँगै जापान, युरोपेली लगानी बैंक (EIB), विश्व बैंक तथा १२ वटा युरोपेली राष्ट्र सहभागी भएका छन्। यी १५ साझेदारले गाजामा युद्धबाट प्रभावित पूर्वाधार पुनर्निर्माण, आधारभूत सेवा पुनःसञ्चालन तथा मानवीय सहयोगलाई सुदृढ बनाउन संयुक्त रूपमा काम गर्नेछन्।प्यालेस्टाइन दाता समूह (पीडीजी) को दोस्रो बैठकको सह-अध्यक्षता प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री मोहम्मद मुस्तफा र भूमध्यसागरीय मामिलाकी ईयू आयुक्त डुब्राभ्का सुइकाले गर्नुभएको थियो।

बैठकमा विदेश मामिला तथा सुरक्षा नीतिका लागि ईयूका उच्च प्रतिनिधि, विभिन्न दाता राष्ट्र, अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा विकास साझेदारका प्रतिनिधिहरूले प्यालेस्टिनी सरकारलाई सहयोग गर्ने, गाजामा प्रारम्भिक सुधार तथा पुनर्निर्माणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरेका थिए।ईयूले गाजामा जारी मानवीय संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने आवश्यकता औँल्याउँदै ‘टीम गाजा इनिसिएटिभ’ मार्फत प्रभावित समुदायको जीवन पुनः सामान्य बनाउन र दीर्घकालीन पुनर्निर्माणका लागि आधार तयार पार्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्