नेपाललाई भारतका थप दुई बन्दरगाह प्रयोग गर्न अनुमति, तेस्रो मुलुकसँगको व्यापार सहज हुने अपेक्षा
नेपालले तेस्रो मुलुकसँग आयात–निर्यात व्यापार गर्न भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। भारतले उडिसास्थित पारादीप र गुजरातस्थित कान्डला बन्दरगाह नेपालका लागि खुला गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा भएको नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन्।
यसअघि नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न प्रस्ताव गर्दै आएको थियो। सन् २०१९ मै ती बन्दरगाह प्रयोग गर्ने विषयमा सैद्धान्तिक सहमति भए पनि यसपटक भने भारत सरकारले सञ्चालन गर्दै आएका पारादीप र कान्डला बन्दरगाहमा पहुँच दिने सहमति भएको हो।
यसअघि निजी क्षेत्रको अडानी समूहले व्यवस्थापन गर्दै आएका धाम्रा र मुन्द्राको विकल्पका रूपमा सरकारी स्वामित्वका बन्दरगाह प्रयोग गर्न पाउने भएपछि नेपालको पारवहन सुविधामा थप विकल्प विस्तार हुने भएको छ।
हाल नेपालले पश्चिम बंगालका कोलकाता र हल्दिया तथा आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाहमार्फत तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ। कोलकाता र हल्दिया एउटै व्यापारिक मार्गमा पर्ने भएकाले यी दुईलाई व्यवहारमा एउटै बन्दरगाहको विकल्पका रूपमा उपयोग गरिँदै आएको छ।
लामो समयदेखि वैकल्पिक समुद्री बन्दरगाहको पहुँच माग्दै आएको नेपालका लागि पारादीप र कान्डलाको सुविधा थपिनुले अन्तर्राष्ट्रिय व्यापारका लागि नयाँ मार्ग खुल्ने अपेक्षा गरिएको छ। यसबाट आयात–निर्यातको ढुवानी विकल्प बढ्नुका साथै पारवहन लागत र समय घटाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्