काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सरकार गठनपछि कामको गति तीव्र बनाउने संकेत दिएका छन्। आइतबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै मन्त्रीहरूलाई एक-एक गरी बोलाएर उनीहरूको कार्यसम्पादन, चुनौती र आवश्यक सहयोगबारे प्रत्यक्ष जानकारी लिएका हुन्।
बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई स्पष्ट सन्देश दिएका छन्—काम गर्दा कुनै समस्या आए सिधै आफूलाई जानकारी गराउनू, ढिला नगरी परिणाममुखी ढंगले अघि बढ्नू। एक मन्त्रीका अनुसार उनले “राम्रा काम गर्न हिचकिचाउनुपर्ने छैन, अप्ठेरो परे म आफैं समाधान गर्छु” भन्ने आशय व्यक्त गरेका थिए।
सरकार गठन भएको छोटो समयमै परिणाम देखाउनुपर्ने दबाबलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले अलमल नगरी काम अगाडि बढाउन जोड दिएका छन्। मन्त्रीहरूले पनि मन्त्रालय सम्हालेको प्रारम्भिक अवस्थामै कर्मचारी संयन्त्र, कार्यप्रणाली र वर्तमान अवस्थाबारे बुझ्ने क्रम जारी रहेको बताएका छन्।
शुक्रबार प्रधानमन्त्रीसहित १५ मन्त्रीले शपथ लिएसँगै जिम्मेवारी सम्हालेका थिए। सोही दिन उनले सचिवहरूलाई मन्त्रीहरूसँग पूर्ण समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए। त्यस्तै, मन्त्रिपरिषद्को पहिलो बैठकले सयवटा शासकीय सुधारका एजेन्डा पारित गरेको थियो।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार, कर्मचारी तहबाट असहयोग नहोस् भन्ने उद्देश्यले मन्त्रीहरूसँग नियमित ब्रिफिङ लिने तयारी गरिएको छ। मन्त्रीहरूले आइतबारसम्म मन्त्रालयको अवस्था बुझिसकेका छन् र सोमबारदेखि कार्यान्वयनमा केन्द्रित हुने योजना बनाएका छन्।
समग्रमा, प्रधानमन्त्री शाहको यो शैलीले सरकारको कामकारबाहीलाई छिटो, समन्वयात्मक र परिणाममुखी बनाउने संकेत देखिएको छ।


COMMENT
.