काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बीच सरकार गठन र मन्त्री छनोटबारे तीव्र तथा गोप्य छलफल जारी रहेको छ। दरबारमार्गस्थित एक होटलमा सुरु भएको छलफल अझै निरन्तर चलिरहेको स्रोतले जनाएको छ।पार्टीभित्र दोस्रो तहका नेताहरूलाई समेत जानकारी नदिई शीर्ष दुई नेताले मन्त्री बन्ने अनुहारहरू अन्तिम चरणमा छनोट गरिरहेका छन् ।
स्रोतका अनुसार अर्थमन्त्रीमा डा। स्वर्णिम वाग्ले लगभग निश्चित भइसकेका छन् भने गृहमन्त्रीमा डीपी अर्याल र सुनिल लम्सालबीच कडा प्रतिस्पर्धा देखिएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य, कानुन लगायत महत्वपूर्ण मन्त्रालयका लागि पनि विभिन्न नामहरूमा सहमति नजिक पुगेको बताइन्छ। केही मन्त्रालयको जिम्मेवारी टुंगिए पनि बाँकी विषयमा अझै छलफल जारी रहेको छ ।
यसैबीच, १२ गते बस्ने केन्द्रीय समिति र सचिवालय बैठकबाट मन्त्रीहरूको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरिएको छ। १३ गते शपथको तयारी भइरहँदा पार्टीभित्र आकांक्षी सांसदहरू नेताहरूको ढोका ढकढक्याउने क्रम पनि बढेको छ। रवि र बालेनबीच कुनै विवाद नभएको र योग्य व्यक्तिलाई मात्रै जिम्मेवारी दिने सहमति बनेको दाबी गरिएको छ।
साथै काम गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाउने कडा मापदण्डसमेत लागू गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ। सरकार गठनको अन्तिम घडी नजिकिँदै जाँदा रास्वपाभित्रको यो गोप्य रणनीति अब सार्वजनिक हुने प्रतीक्षा चुलिएको छ।


COMMENT
.