• ९ चैत २०८२, सोमवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत अफ होर्मुज’ (होर्मुज जलमार्ग) नखोले त्यहाँका विद्युत् गृहहरू ‘ध्वस्त’ पारिदिने चेतावनी दिएका छन्। विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले बन्द गरेपछि ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।

विश्वव्यापी तेल आपूर्तिका लागि लाइफलाइन मानिने होर्मुज जलमार्गमा इरानले सिर्जना गरेको अवरोधप्रति कडा रूपमा प्रस्तुत हुँदै ट्रम्पले लेखेका छन्, “यदि इरानले अबको ४८ घण्टाभित्र होर्मुज जलमार्गलाई पूर्ण रूपमा र बिना कुनै अवरोध खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न पावर प्लान्टहरूमा प्रहार गर्नेछ र तिनलाई नामेट पारिदिनेछ।”

यसैबीच, इरानले दक्षिण इजरायलको डिमोना सहरमा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणमा कम्तीमा ४७ जना घाइते भएका छन्। क्षेप्यास्त्रको निशाना डिमोनास्थित आणविक केन्द्र रहेको बुझिएको छ, जुन प्रहार गरिएको स्थानबाट करिब १३ किलोमिटरको दुरीमा पर्दछ।

इजरायली सञ्चारमाध्यमका अनुसार आक्रमणपछि नजिकैको अराद सहरका कम्तीमा ८८ जनालाई अस्पताल भर्ना गरिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनालाई ‘अत्यन्तै कठिन साँझ’ को संज्ञा दिएका छन्। इरानले भने यो आक्रमण आफ्नो नातान्ज आणविक केन्द्रमाथि भएको हमलाको जवाफ भएको दाबी गरेको छ। यद्यपि, इरानी आणविक ऊर्जा निकायले वरपरका क्षेत्रमा कुनै खतरा नरहेको स्पष्ट पारेको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यसै साता इरानको भूमिगत सैन्य अखडामा गरिएको बमबारीपछि होर्मुज जलमार्गमा जहाजलाई धम्की दिने इरानी क्षमतामा ह्रास आएको छ। तर, द्वन्द्वका क्रममा इरानी सेनाले खाडी क्षेत्रमा निरन्तर आक्रमण जारी राखेपछि ‘जी-७’ राष्ट्रका विदेश मन्त्रीले तत्काल आक्रमण रोक्न आह्वान गरेका छन्।

विदेश मन्त्रीहरूले क्षेत्रीय पूर्वाधारहरूमा आक्रमण भइरहेको अवस्थामा विश्वव्यापी ऊर्जा आपूर्ति सुनिश्चित गर्न आवश्यक कदम चाल्न आफूहरू तयार रहेको समेत बताएका छन्। इरानमा नयाँ वर्षको उत्सव चलिरहँदा इजरायल र अमेरिकाले तेहरानमा आक्रमण जारी राखेका छन्। नयाँ वर्षको माहोलबारे बीबीसीसँग कुरा गर्दै एक इरानी महिलाले भनिन्, “यो वर्ष नयाँ वर्ष जस्तो लागेको छैन, सर्वत्र निराशा र सन्नाटा छ।”

COMMENT

.