काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठक वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मुलुकबासीका नाममा पठाइएको सन्देशलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ । सन्देशमा उल्लेख भए अनुसार “पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ र निर्वाचनपछि कुनै द्वन्द, अशान्ति वा खिचातानी नहोस्” भन्ने विचारलाई मुलुकको यथार्थ र आम जनताको चाहनासँग मेल खाने राप्रपाको निष्कर्ष छ ।
राप्रपाले मुलुकको वर्तमान अवस्था दृष्टिगत गर्दै सर्वपक्षीय सम्मेलनको आवश्यकता र नविन समझदारी कायम गर्ने पक्षमा पटकपटक आवाज उठाउँदै आएको बताएको छ। पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्नुका साथै विभिन्न राजनीतिक दलहरूसँग विचारविमर्श गर्दै आएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले चुनावी अभियानका क्रममा पनि उच्च मनोबलका साथ आम जनतालाई जागरुक तुल्याउँदै सर्वपक्षीय समझदारीको लागि दबाब दिने रणनीति अपनाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए । बैठकमा पूर्व अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, कमल थापा र काठमाडौँमा उपलब्ध अन्य केन्द्रीय पदाधिकारीहरू उपस्थित थिए।


COMMENT
.