विपद्बाट प्रभावित ४९ वटै वडाको क्षति विवरण प्रमाणित गरेर दिन संसदीय समितिको निर्देशन
भोटेकोसी एवं कालीगण्डकी करिडोरमा विपद्बाट प्रभावित ४९ वटै वडाको क्षति विवरण छुट्टाछुट्टै प्रमाणित गरेर उपलब्ध गराउन संसदीय विशेष समितिले सरकारसँग माग गरेको छ।
भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित क्षेत्रको वास्तविक अवस्था स्पष्ट पार्न सम्बन्धित सरकारी निकायलाई यस्तो निर्देशन दिएका हुन्।
बुधबार सिंहदरबारमा आयोजित छलफलका क्रममा सभापति पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै सबै प्रभावित वडाको क्षति तथा नोक्सानीको यथार्थ विवरण आवश्यक रहेको बताए। उनले मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको नोक्सानी र राहत वितरणको अवस्थासम्बन्धी तथ्याङ्क सम्बन्धित निकायबाट प्रमाणित गरी हस्ताक्षरसहित उपलब्ध गराउनुपर्नेमा जोड दिए।
उनका अनुसार प्रत्येक वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषि लगायतका क्षेत्रमा कति क्षति पुग्यो भन्ने विषयमा स्पष्ट तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले विश्वसनीय तथा तथ्यमा आधारित प्रतिवेदन तयार गर्न सक्नेछ।
समितिले सरकारी विवरणमा उल्लेख गरिएको राहत वितरण र प्रभावित नागरिकले वास्तविक रूपमा प्राप्त गरेको राहत तथा क्षतिपूर्तिको अवस्थाबीच तुलना गर्ने तयारीसमेत गरेको छ। यसका लागि स्थलगत निरीक्षणका क्रममा प्रभावित नागरिकसँग प्रत्यक्ष जानकारी लिइने सभापति पौडेलले बताए।
सरकारी निकायले राहत वितरण गरेको दाबी गरे पनि सम्बन्धित नागरिकले राहत तथा क्षतिपूर्ति पाए वा पाएनन् भन्ने विषयमा वास्तविक अवस्था बुझेर प्रतिवेदनमा समेटिने उनले स्पष्ट पारे।
राष्ट्रिय सभाको जिम्मेवारीअनुसार विपद्बाट प्रभावित नागरिकले भोगेका समस्या र वास्तविक अवस्थालाई उजागर गर्दै प्रमाणमा आधारित सुझाव तथा निर्णयका लागि प्रतिवेदन तयार गर्नु समितिको उद्देश्य रहेको पौडेलको भनाइ छ।
उनले आवश्यक तथ्याङ्क यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै सबै प्रभावित वडाको विवरण प्राप्त भएपछि स्थलगत निरीक्षणलाई अघि बढाइने जानकारी दिए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्