मोरङमा अनुमति बिना स्वास्थ्य शिविर चलाएको आरोपमा १० विदेशीको राहदानी जफत
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको राहदानी जफत गरिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको जनाइएको छ।
पर्यटक भिसामा नेपाल आएका विदेशी चिकित्सकसहितको टोलीले ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थामार्फत स्वास्थ्य शिविर सञ्चालन गरेको पाइएको हो। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूको राहदानी अध्यागमन विभाग पठाइएको बताइएको छ।
गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा ब्राजिलका तीन, क्यानडाका दुई र अमेरिकाका पाँच जना नागरिक सहभागी थिए। उनीहरू अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको र भिसाको अवधि नोभेम्बर ६ देखि २१ सम्म रहेको विवरणमा उल्लेख छ।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गर्ने भनिएको जग्गामा यसअघि धार्मिक कक्षा सञ्चालन हुँदै आएको जनाइएको छ। स्थानीय व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले तीन कट्ठा जग्गामा बनाएका छवटा भवन हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको बताइएको छ।
उक्त स्थानमा धार्मिक गतिविधि सञ्चालनको विषयमा विवाद उत्पन्न भएपछि स्वास्थ्य शिविर आयोजना गरिएको बताइएको छ। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको जनाइएको छ।
पर्यटक भिसामा आएका विदेशी नागरिकले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको विषयमा सम्बन्धित निकायले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्