महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी आज रुकुम पश्चिम आउनुहुने भएको छ। जिल्लाका विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायका समस्या, आवश्यकता र गुनासा प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले उहाँ रुकुम आउन लाग्नुभएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता पुस्तक चन्दका अनुसार मन्त्री बादीसहित उहाँको सचिवालय टोली आज साँझ सल्यान हुँदै रुकुम पश्चिम पुग्ने कार्यक्रम रहेको छ।
मन्त्री बादीले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर प्रभावित समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। उहाँले त्रिवेणी गाउँपालिकाको सिम्रुतु, सानीभेरी गाउँपालिकाको सिम्ली र चौरजहारी नगरपालिकामा स्थानीय समुदायसँग छलफल गर्नुहुनेछ।
आजै साँझ त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा विपद् प्रभावित महिला, बालबालिका तथा दलित समुदायसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको नेता चन्दले जानकारी दिनुभयो।
त्यसैगरी बिहीबार बिहान सानीभेरी गाउँपालिकामा सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमन गर्ने कार्यक्रम तय भएको छ। बिहीबार नै चौरजहारी नगरपालिकामा आमा समूह, विपद् प्रभावित महिला, बालबालिका, दलित समुदाय तथा बौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया गरिनेछ।
स्थानीयस्तरमा देखिएका समस्या, सामाजिक सुरक्षा प्राप्तिमा रहेका कठिनाइ, बाल संरक्षण, विपद्का कारण प्रभावित परिवारको अवस्था तथा दलित समुदायका सवालबारे मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने अवसरका रूपमा यस कार्यक्रमलाई हेरिएको छ।
यसैबीच रास्वपा रुकुम पश्चिमले मन्त्री बादीसमक्ष जिल्लाका समस्या, गुनासा तथा रचनात्मक सुझाव राख्न स्थानीयवासीलाई आग्रह गरेको छ। मन्त्रीको भ्रमणबाट स्थानीय समुदायका वास्तविक समस्या सरकारसम्म पुग्ने र समाधानका लागि आवश्यक पहल हुने अपेक्षा गरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्