अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसद्का दुवै सदनमा आफ्नो बहुमत गुमाउन सक्ने सम्भावनाबारे चर्चा बढेको छ। प्रारम्भिक मतगणनामा डेमोक्र्याटिक पार्टीले विभिन्न राज्यमा अग्रता लिइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाले रिपब्लिकन पार्टीभित्रको राजनीतिक बहसलाई थप चर्काएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत चुनावी परिणामबारे पहिलो प्रतिक्रिया दिँदै आफू उम्मेदवार बनेको भए पार्टीले भारी मतले जित्ने दाबी गरेका छन्। उनले लेखेका छन्, ‘म चुनावी मैदानमा छैन। मैले चुनाव लडेको भए हामीले भारी मतले जित्ने थियौँ।’

ट्रम्पको उक्त अभिव्यक्तिलाई चुनावी परिणामको जिम्मेवारी पार्टीका उम्मेदवारतर्फ पन्छाउन खोजेको प्रतिक्रियाका रूपमा हेरिएको छ। यसअघि पनि मध्यावधि निर्वाचनमा ट्रम्पको अडान र चुनावी रणनीतिलाई लिएर केही रिपब्लिकन नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको नियन्त्रण खोस्ने सम्भावना रहेको छ। ४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमत कायम गर्न २१८ सिट आवश्यक पर्छ। सीबीएसको प्रारम्भिक आकलनअनुसार डेमोक्र्याटिक पार्टी कम्तीमा २१८ सिटतर्फ अघि बढिरहेको छ भने रिपब्लिकन पार्टीले कम्तीमा १६० सिट जित्ने अनुमान गरिएको छ।

हाल अमेरिकी कंग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ। तर कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिगत एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन कठिन हुन सक्छ।

सिनेटमा बहुमतको गणित

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा कुल १०० सिट छन्। बहुमतका लागि ५१ सिट आवश्यक पर्छ। हाल रिपब्लिकन पार्टीसँग ५३ र डेमोक्र्याटिक पार्टीसँग ४५ सिट छन्। डेमोक्र्याटिक पार्टीसँग सहकार्य गर्ने दुई स्वतन्त्र सांसदसमेत छन्।

यसपटक सिनेटका ३५ सिटका लागि निर्वाचन हुँदै छ। तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्र्याटिक पार्टीका हुन्। सिनेटमा बहुमत प्राप्त गर्न डेमोक्र्याटिक पार्टीले आफ्नो सिट अवस्थाअनुसार कम्तीमा चार सिट थप्नुपर्ने हुन्छ।

दुवै दलको सिट संख्या ५०–५० भएमा उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्ने व्यवस्था छ।

प्रतिनिधिसभामा २१८ सिटको प्रतिस्पर्धा

अमेरिकी कंग्रेसको तल्लो सदन प्रतिनिधिसभामा कुल ४३५ सदस्य हुन्छन्। सबै सिटका लागि एकैपटक निर्वाचन हुने भएकाले २१८ वा सोभन्दा बढी सिट जित्ने दलले सदनमा बहुमत कायम गर्छ।

रिपब्लिकन पार्टी आफ्नो बहुमत जोगाउने प्रयासमा छ भने डेमोक्र्याटिक पार्टी दुवै सदनमा नियन्त्रण कायम गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा छ।

३६ राज्यमा गभर्नरका लागि पनि निर्वाचन

मध्यावधि निर्वाचनअन्तर्गत अमेरिकाका ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान भइरहेको छ। सीबीएस न्युजले सार्वजनिक गरेको प्रारम्भिक आकलनअनुसार विभिन्न राज्यमा दुवै दलबीच प्रतिस्पर्धा देखिएको छ।

सूचीअनुसार एरिजोना, आयोवा, मिसिगन, मिनेसोटा र न्यु मेक्सिकोमा डेमोक्र्याटिक पार्टी बलियो अवस्थामा देखिएको छ। कान्सास, नेब्रास्का, टेक्सास र विस्कन्सिनमा प्रतिस्पर्धा नजिक रहेको छ भने दक्षिण डकोटामा रिपब्लिकन पार्टीले जित्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणामले अमेरिकी संसद्को शक्ति सन्तुलनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा चासो बढेको छ।