काठमाडौं। अभिनेता अनुपविक्रम शाहीले आफ्नो नयाँ फिल्म 'टनेल २६' नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन्। नेपाली पर्दामा यसअघि यस्तो कथा नदेखिएको उनको भनाइ छ।

फिल्मबारे कुरा गर्दै अनुपले यसमा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेको बताए। यी विधा मन पराउने दर्शकलाई फिल्म अवश्य मन पर्ने उनको विश्वास छ।

'नेपाली फिल्म उद्योगको इतिहास हेर्दा पहिलोपटक हामीले जम्बी फिल्म बनाउने प्रयास गरेका छौं,' उनले भने।

जम्बी भन्नाले सामान्यतया मरेपछि फेरि जीवित भएर मानिसलाई आक्रमण गर्ने पात्रलाई बुझिन्छ। यस्ता पात्रलाई केन्द्रमा राखेर बनाइने फिल्मलाई जम्बी फिल्म भनिन्छ।

तीन देशको सहकार्य, तीन भाषामा रिलिज

'टनेल २६' भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको हो। फिल्म असोज २३ गते अर्थात् अक्टोबर ९ मा प्रदर्शनमा आउँदैछ।

अनुपका अनुसार फिल्म नेपालमा नेपाली भाषामा र भुटानमा भुटानी भाषामा प्रदर्शन हुनेछ। भारतमा भने त्यहाँको भाषामा डब गरेर रिलिज गरिनेछ।

भाषाअनुसार डब हुँदैमा फिल्मको पहिचान नफेरिने उनको तर्क छ। नेपालमा नेपाली भाषामै रिलिज हुने भएकाले यो आफ्नै नेपाली फिल्म भएको उनले बताए। नेपालीमा डब गरेर हेरिने भारतीय फिल्म भाषा फेरिँदैमा भारतीय फिल्म हुन नछोड्ने उदाहरण पनि उनले दिए।

वास्तविक टनेलभित्र छायांकन

फिल्मको छायांकन वास्तविक टनेलभित्र गरिएको हो। त्यहाँ काम गर्दा निकै कठिन अनुभव भएको अनुपले सुनाए।

तर अहिले टिजरले पाइरहेको प्रतिक्रिया र दर्शकको उत्साहले छायांकनका क्रममा भोगेको दुःख बिर्साएको उनको भनाइ छ। टिजर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको कौतुहलता बढेको आफूले महसुस गरेको उनले बताए।

<iframe width="1650" height="928" src="https://www.youtube.com/embed/0fUgqQcMQcY" title="TUNNEL 26 || MOVIE OFFICIAL TRAILER 2026 || SANGAY TSHELTRIM, ANOOP BIKRAM SHAHI, ANNA SHARMA" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>