क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट स्टारशिपको परीक्षण उडान स्थगित गरेको छ । अब शुक्रबार मात्रै पुनः प्रक्षेपणको प्रयास गरिने कम्पनीले जनाएको छ । यो निर्णय कम्पनीले इतिहासकै ठुलो प्राथमिक शेयर निस्कासन (आईपीओ) जारी गर्ने योजना सार्वजनिक गरेको एक दिनपछि आएको हो । विश्लेषकहरूका अनुसार स्टारशिपको सफल परीक्षणले लगानीकर्तालाई कम्पनीका शेयर खरिद गर्न आकर्षित गर्न सक्छ ।

स्पेसएक्सको आईपीओ नास्डाकमा सूचिकृत हुने तयारी भइरहेको छ । कम्पनीले “SPCX” टिकर चिन्हअन्तर्गत अर्को महिनादेखि कारोबार सुरु गर्न सक्ने बताइएको छ। यो वाल स्ट्रिटकै सबैभन्दा ठुलो आईपीओ बन्न सक्ने अनुमान गरिएको छ । कम्पनीमा मस्कको शेयर स्वामित्वका कारण उनी विश्वकै पहिलो “ट्रिलियनियर” बन्न सक्ने चर्चा पनि भइरहेको छ । उनी अहिले नै विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । स्पेसएक्सले आफ्नो कम्पनी मूल्य १२ खर्ब ५० अर्ब डलर आँकेको छ । कम्पनीमा मस्कको बहुमत स्वामित्व भएकाले उनको हिस्सा मात्रै ६ खर्ब डलरभन्दा बढी मूल्यको हुन सक्ने बताइएको छ ।

मस्कले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रक्षेपण टावरको हाइड्रोलिक पिनमा समस्या देखिएकाले उडान रोकिएको बताएका छन् । “यदि आज राति समस्या समाधान भयो भने शुक्रबार साँझ पुनः प्रक्षेपण प्रयास हुनेछ” उनले भनेका छन् । स्पेसएक्सले रकेट निर्माणसँगै स्टारलिंक नामक स्याटेलाइट इन्टरनेट सेवा पनि सञ्चालन गर्छ । कम्पनीसँग कृत्रिम बौद्धिकता कम्पनी एक्सएआई पनि छ ।

मानवरहित यो उडान स्टारशिप भी३ रकेटको पहिलो परीक्षण हुनेछ । धेरै महिनादेखिको ढिलाइपछि परीक्षण हुन लागेको हो । स्पेसएक्सले आफ्नो आइपीओ दस्तावेजमा स्टारशिपलाई “अहिलेसम्म विकास गरिएको सबैभन्दा शक्तिशाली प्रक्षेपण प्रणाली” भनेको छ ।

कम्पनीका अनुसार स्टारशिप भी३ले १०० मेट्रिक टनसम्मको भार बोक्न सक्नेछ । भविष्यका संस्करणहरूमा यो क्षमता दोब्बर बनाउने लक्ष्य राखिएको छ । यो प्रणाली विशेष रूपमा स्टारलिंक स्याटेलाइट र अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाको चन्द्र मिसनका लागि छिटो प्रक्षेपण गर्न डिजाइन गरिएको हो ।