चितवन । विशेषज्ञहरूका अनुसार महिलामा थाइराइड रोगको जोखिम पुरुषको तुलनामा धेरै हुन्छ। इन्डोक्राइनोलोजिष्टहरूले यसको मुख्य कारण हर्मोन परिवर्तन र शरीरको अटो इम्युनिटी प्रणालीलाई मानिएका छन्।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका इन्डोक्राइनोलोजिष्ट डा. सौरव खतिवडाका अनुसार १५ देखि २० प्रतिशत महिलामा हाइपर थाइराइडिज्मको समस्या देखिन सक्छ भने पुरुषमा यो करिब ५ देखि ८ प्रतिशत मात्र हुन्छ।
उनका अनुसार घाँटीको अगाडि रहेको थाइराइड ग्रन्थीले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ, जसले बच्चाको मस्तिष्क विकासदेखि वयस्कको ऊर्जा, मुटुको काम, पाचन प्रणाली र तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ।
थाइराइडका प्रकार र लक्षण
थाइराइड हर्मोन बढी हुँदा हाइपर थाइराइडिज्म हुन्छ, जसले आत्तिने, हात काँप्ने, मुटु छिटो धड्किने र अत्यधिक गर्मी महसुस हुने जस्ता समस्या देखिन्छन्। यसलाई ‘दुब्लाउने थाइराइड’ पनि भनिन्छ।
यस अवस्थामा T3 र T4 हर्मोन बढेको हुन्छ भने TSH घटेको हुन्छ। यस्तो अवस्थामा हर्मोन घटाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ।
अर्कोतर्फ, थाइराइड हर्मोन कमी हुँदा शरीर सुस्त हुने, थकान लाग्ने, अनुहार फुस्रो हुने, कपाल झर्ने र खुट्टा सुन्निने समस्या देखिन सक्छ। यसलाई ‘मोटाउने थाइराइड’ पनि भनिन्छ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यस्तो अवस्थामा दैनिक बिहान औषधि सेवन गर्दा समस्या नियन्त्रणमा आउन सक्छ।
महिलामा बढी किन देखिन्छ?
विशेषज्ञहरूका अनुसार महिलामा थाइराइड बढी देखिनुको मुख्य कारण अटो इम्युनिटी हो। डा. उमनाथ अधिकारीका अनुसार महिलामा शरीरको प्रतिरक्षा प्रणाली बढी सक्रिय हुने भएकाले थाइराइडजस्ता समस्या पनि बढी देखिन्छन्।
महिलामा विशेषगरी प्रसूति पछि, २५ देखि ५० वर्षको उमेर समूहमा थाइराइड बढी देखिन्छ। महिनावारी गडबडी, शरीर दुख्ने, तौल बढ्ने वा घट्ने जस्ता लक्षण पनि देखा पर्न सक्छन्।
थाइराइड क्यान्सरको जोखिम
विशेषज्ञहरूले घाँटीमा गाँठो देखिएमा तुरुन्त अल्ट्रासाउन्ड जाँच गर्न सुझाव दिएका छन्। केही अवस्थामा थाइराइड ट्युमर क्यान्सरमा परिणत हुन सक्ने भए पनि समयमै पहिचान र उपचार भएमा निको पार्न सकिन्छ।
निष्कर्ष
थाइराइड एक सामान्य तर गम्भीर हुन सक्ने स्वास्थ्य समस्या हो। विशेषगरी महिलामा यसको जोखिम बढी हुने भएकाले नियमित जाँच, लक्षणको पहिचान र समयमै उपचार आवश्यक मानिन्छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्