काठमाडौँ । धेरै पिरो वा मसलेदार खानेकुरा खाँदा कहिलेकाहीँ पेट पोल्ने समस्या हुनु सामान्य हो। तर, यो समस्या लगातार देखिइरहन्छ भने यसले तपाईंको खानपानको बानीमाथि प्रश्नचिह्न खडा गर्छ।
यस लेखमा हामी पेट पोल्ने समस्या निम्त्याउने प्रमुख कारणहरू र यसबाट छुटकारा पाउने उपायहरूबारे चर्चा गर्नेछौँ।
पिरो र मसलेदार खानेकुरा
यस्ता खानेकुरा स्वादिलो लागे पनि यसले पेटको भित्री भागमा समस्या निम्त्याउन सक्छ। चाहिनेभन्दा बढी रातो खुर्सानी, मरिच र गरम मसलाले शरीरमा अत्यधिक मात्रामा एसिड उत्पादन गर्छन्। यसले गर्दा पेट र घाँटी पोल्ने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा लगातार यस्ता खानेकुरा खाँदा यो समस्या अझ बढ्न सक्छ।
गोलभेँडाले बढाउन सक्छ एसिडिटी
गोलभेँडाको प्रकृति अम्लीय हुन्छ। यसले पेटको समस्या बढाउन सक्छ। यसलाई काँचै, पकाएर, सस वा केचप जसरी खाए पनि पेट र छाती पोल्ने समस्या हुन सक्छ।
यी पेयपदार्थ पनि हानिकारक
सफ्ट ड्रिङ्क्स वा कार्बोनेटेड पेयपदार्थमा कार्बन डाइअक्साइड हुन्छ। यसले पेटमा दबाब बढाउने काम गर्छ। यही दबाबका कारण एसिड माथितिर आउन थाल्छ र पेट वा छाती पोलेको महसुस हुन्छ।
क्याफिनयुक्त पेयपदार्थ
चिया, कफी र इनर्जी ड्रिङ्क्सले पेटमा धेरै मात्रामा एसिड बनाउन थाल्छन्। विशेषगरी खाली पेटमा यस्ता पेयपदार्थ सेवन गर्दा पेट पोल्ने समस्या अझ बढ्न सक्छ।
दुग्धजन्य पदार्थ
धेरै मानिस पेट वा घाँटीको जलन कम गर्न दूधजन्य पदार्थ सेवन गर्छन्। तर, केही व्यक्तिमा यसले पाचन प्रक्रिया ढिलो बनाउने र एसिडिटी बढाउने गर्छ। विशेषगरी ल्याक्टोज नपच्ने समस्या भएका व्यक्तिमा यो समस्या अझ बढी देखिन्छ।
मांसाहारी खानेकुरा
रातो मासु र धेरै तेलमा पकाइएका मांसाहारी परिकारहरू भारी हुन्छन्। यिनलाई पचाउन लामो समय लाग्ने भएकाले पेटमा एसिड उत्पादन बढ्न सक्छ र पेटमा दबाब सिर्जना हुन्छ।
यसरी पाउन सकिन्छ राहत
यदि समस्या बारम्बार दोहोरिन्छ भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। साथै, जीवनशैलीमा केही सुधारले पनि पेट पोल्ने समस्या कम गर्न सकिन्छ:
क्याफिन र कार्बोनेटेड पेयपदार्थ सीमित मात्रामा सेवन गर्ने
खाली पेटमा यस्ता खानेकुरा नखाने
राति सुत्नुअघि भारी भोजन नगर्ने
एकैपटक धेरै खानुको साटो थोरै–थोरै गरेर खाने
सुत्दा टाउको अलि माथि हुने गरी सिरानी प्रयोग गर्ने
शरीरको तौल नियन्त्रणमा राख्ने


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्