एजेन्सी। विश्वकै धनी व्यक्ति इलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धमा तनाव देखिएको छ। कारण हो, मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले भारतमा अझै सेवा सुरु गर्न नपाउनु।
मस्कले भारतको दूरसञ्चार बजारमा केही अर्बपतिले एकाधिकार जोगाउन स्टारलिंकलाई रोकिरहेको आरोप लगाएका छन्। उनले यसलाई भारतीय जनताविरुद्धको अपराधसमेत भनेका छन्। बिहीबार उनले रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई लक्षित गर्दै प्रश्न गरे, 'के अम्बानी नै भारतका वास्तविक मालिक हुन्?'
मस्कको यो आरोप स्वतन्त्र रूपमा पुष्टि भएको छैन। रिलायन्स वा एयरटेलले स्टारलिंकको अनुमति रोकेको प्रमाण पनि सार्वजनिक भएको छैन।
सरकार के भन्छ?
भारत सरकारले मस्कको आरोप अस्वीकार गरेको छ। सञ्चार मन्त्रालयका अनुसार स्टारलिंक, रिलायन्स जियोको स्याटेलाइट व्यवसाय र एयरटेल समर्थित युटेलस्याट वानवेब तीनै कम्पनी एउटै प्रक्रियामा छन्। तीनै कम्पनीले सुरक्षा जाँचलगायतका सर्त पूरा गर्नुपर्छ।
स्टारलिंक कहाँ अड्कियो?
सन् २०२५ फेब्रुअरीमा वासिङ्टनमा मस्क र मोदीको भेट भएको थियो। त्यसको केही महिनापछि भारतले स्टारलिंकलाई आवश्यक इजाजत दियो।
तर इजाजत पाउँदैमा सेवा सुरु गर्न मिल्दैन। अन्तिम सुरक्षा स्वीकृति र स्पेक्ट्रमको प्रक्रिया अझै बाँकी छ। मस्कका अनुसार स्टारलिंकले १६५ भन्दा बढी देशमा अनुमति पाइसकेको छ, तर भारतमा पाँच वर्षदेखि प्रयास गर्दा पनि सफल भएको छैन।
किन महत्त्वपूर्ण छ यो बजार?
जियो र एयरटेलले भारतको दूरसञ्चार बजारको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको बताइन्छ। स्टारलिंकले स्याटेलाइटबाट इन्टरनेट दिने भएकाले टावर र फाइबर पुर्याउन गाह्रो हुने दुर्गम ठाउँमा यी कम्पनीको प्रतिस्पर्धी बन्न सक्छ।
सरकारका लागि भने यो व्यापारको मात्र विषय होइन। विदेशी कम्पनीको स्याटेलाइट सञ्जालबाट संवेदनशील सञ्चार हुने भएकाले राष्ट्रिय सुरक्षा र तथ्यांकको सुरक्षाको चिन्ता पनि जोडिएको छ।
राहुल गान्धी पनि बहसमा
मस्कको प्रश्नपछि कांग्रेस नेता राहुल गान्धीले एक्समा व्यंग्य गर्दै अर्को व्यक्तिलाई चिनेपछि अझ धेरै थाहा हुने लेखे। उनले नाम लिएनन्, तर यसलाई अर्बपति गौतम अदानीतर्फको संकेत मानिएको छ। मस्कले गान्धीलाई धन्यवाद दिँदै यो चिन्ताजनक भएको जवाफ फर्काए।
सरकार र अदानीले कांग्रेसका यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्