बेइजिङ । साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा लिन इरानसँग आन्तरिक रूपमा आग्रह गरेको दाबी गरिएको छ।
पछिल्लो एक सातामा हुथीहरूले लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब आसपास सैन्य गतिविधि तीव्र पारेपछि साउदी अरबले चीनसँग सहयोग मागेको तीन इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
स्रोतहरूका अनुसार हुथीहरूको तीव्र सैन्य विस्तारले साउदी अरबको तेल निर्यात र लाल सागरमार्फत हुने अन्तर्राष्ट्रिय समुद्री यातायात थप जोखिममा परेको छ। यसैकारण रियादले बेइजिङसँग सहयोग मागेको हो।
चीनले सार्वजनिक रूपमा क्षेत्रीय तनाव कम गर्न, संवाद अघि बढाउन र समुद्री मार्गमा सुरक्षित आवागमन पुनःस्थापित गर्न आह्वान गर्दै आएको छ। यद्यपि रोयटर्सका अनुसार चीनको आन्तरिक आग्रह सार्वजनिक अभिव्यक्तिभन्दा केही कडा छ। बेइजिङले इरानलाई हुथीहरूमाथिको आफ्नो प्रभाव प्रयोग गरी लाल सागर र ऊर्जा आपूर्ति मार्गमा संकट थप फैलिन नदिन आग्रह गरेको स्रोतहरूको दाबी छ।
चीनले यो सन्देश इरानसमक्ष कसरी पुर्यायो भन्ने स्पष्ट भइसकेको छैन। बुधबार चीन भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अराघ्चीमार्फत उक्त सन्देश दिइएको हो वा होइन भन्ने विषयमा पनि स्रोतहरूले केही खुलाएका छैनन्।
इरानको जवाफ
तीन इरानी स्रोतका अनुसार चीनको आग्रहमा तेहरानले क्षेत्रीय स्थिरता र शान्तिका लागि सबैभन्दा पहिले इरानमाथि जारी अमेरिकी–इजरायली युद्ध अन्त्य हुनुपर्ने जवाफ दिएको थियो। इरानले हुथीहरूलाई मत्थर पार्ने प्रयास नगरेको खण्डमा आर्थिक दबाब दिने वा अन्य कुनै कदम चाल्ने चेतावनी भने चीनले नदिएको स्रोतहरूको भनाइ छ।
स्रोतका अनुसार चिनियाँ विदेश मन्त्रालयले क्षेत्रीय तनाव यमन र लाल सागरसम्म फैलिन नहुने बताएको छ। सबै देशको सार्वभौमिकता र सुरक्षाको सम्मान हुनुपर्ने तथा जनजीवनका लागि महत्त्वपूर्ण संरचनालाई निशाना बनाउन नहुने बताउँदै चीनले विवादको समाधान संवाद र वार्ताबाट खोज्न आह्वान गरेको छ। इरानी विदेश मन्त्रालय र साउदी सरकारको सञ्चार कार्यालयले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
चीनका लागि लाल सागर र होर्मुज किन महत्त्वपूर्ण ?
चीनका लागि यो विषय क्षेत्रीय सुरक्षा मात्र नभई ऊर्जा सुरक्षासँग पनि जोडिएको छ। इरान एक दशकभन्दा बढी समयदेखि चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ भने चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो। कमोडिटीसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने कम्पनी 'केप्लर' का अनुसार सन् २०२५ मा इरानको समुद्री मार्गबाट निर्यात भएको तेलमध्ये ८० प्रतिशतभन्दा बढी चीनले खरिद गरेको थियो। यसको औसत मात्रा दैनिक करिब १४ लाख ब्यारेल थियो।
इरानले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दीजस्तो अवस्था सिर्जना गरिसकेको छ। यसले विश्व ऊर्जा बजारमा दबाब बढाइरहेको अवस्थामा लाल सागरमा हुथी आक्रमण थप तीव्र भए मध्यपूर्वका दुई महत्त्वपूर्ण तेल तथा व्यापारिक समुद्री मार्ग एकैपटक प्रभावित हुन सक्छन्।
लाल सागर र बाब अल–मन्देब विश्व व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग हुन्। यी जलमार्गमा जहाजमाथि निरन्तर आक्रमण वा बन्दरगाहलाई निशाना बनाउने गतिविधि भए ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप अवरोध आउन सक्ने चिन्ता बढेको छ।
एक पश्चिमी कूटनीतिज्ञले रोयटर्सलाई बताएअनुसार चीन इरानलाई हुथी गतिविधि नियन्त्रण गर्न दबाब दिन सक्ने सीमित देशमध्ये एक हो। मध्यपूर्व मामिलाका विश्लेषक एलेक्स वातान्काका अनुसार चीनले इरानमाथि पर्ने अमेरिकी दबाबको विरोध गर्न सक्ने भए तापनि मध्यपूर्वमा उसको हित इरानसँग भन्दा निकै व्यापक छ। चीनले आफ्नो तेल आयातको ठूलो हिस्सा मध्यपूर्वबाट ल्याउने र गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) का देशहरूसँग उसको वार्षिक व्यापार करिब ३०० अर्ब डलर रहेको उनले बताएका छन्।
इरानले होर्मुजमार्फत दबाब सिर्जना गर्न सक्ने अवस्था रहे तापनि यस्तो दबाब लामो समयसम्म कायम रहे त्यसले इरान आफैँलाई आर्थिक र रणनीतिक रूपमा आवश्यक पर्ने चीनलाई समेत प्रभावित पार्ने वातान्काको भनाइ छ।
चीनसँग इरानको सम्बन्ध
अमेरिकी प्रतिबन्ध र युद्धका कारण इरानको अर्थतन्त्र दबाबमा रहेका बेला चीन इरानका लागि महत्त्वपूर्ण आर्थिक साझेदार हो। इरानी तेल उद्योगमा लगानी गर्न तथा अर्थतन्त्रलाई राहत दिन सक्ने वित्तीय क्षमता भएका सीमित देशमध्ये चीन एक हो।
चीनले सन् २०२३ मा इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। लामो समयको तनावपछि दुई देशबीच सम्बन्ध सुधार्ने उक्त पहललाई चीनको पश्चिम एसियामा बढ्दो कूटनीतिक प्रभावको महत्त्वपूर्ण उदाहरणका रूपमा लिइन्छ।
यद्यपि इरान–चीन सम्बन्धका आफ्नै सीमाहरू छन्। सन् २०२१ मा दुई देशले २५ वर्षे सहकार्य सम्झौता गरे तापनि चीनबाट इरानमा गैर–तेल क्षेत्रमा अपेक्षित स्तरको व्यापार र लगानी नआएको भन्दै इरानभित्रै आलोचना हुँदै आएको छ।
अहिले तेहरानका लागि चीनलाई बेवास्ता गर्न कठिन भए तापनि हुथीसम्बन्धी निर्णयमा चिनियाँ चासो मात्र निर्णायक नहुने इरानी स्रोतहरूले बताएका छन्। इरानले रणनीतिक, आर्थिक र राजनीतिक पक्षलाई समेत ध्यानमा राखेर निर्णय गर्ने उनीहरूको भनाइ छ।
हुथीमाथि इरानको प्रभाव कति ?
यमनमा सन् १९९० को दशकमा उदाएको हुथी आन्दोलनले साउदी अरबको प्रभाव र हस्तक्षेपको विरोध गर्दै आफ्नो शक्ति विस्तार गरेको थियो। पश्चिमी मुलुक तथा इरानी स्रोतहरूका अनुसार हुथीलाई इरानले हतियार, तालिम र आर्थिक सहयोग दिँदै आएको छ।
हुथीहरू इरानसँग जोडिएको क्षेत्रीय सशस्त्र सञ्जालको एउटा महत्त्वपूर्ण हिस्सा मानिन्छन्। पछिल्लो समय उनीहरूको सैन्य गतिविधि यमनबाट बाहिर लाल सागर तथा बाब अल–मन्देब क्षेत्रको समुद्री सुरक्षासँग समेत जोडिएको छ।
यही कारण चीनले इरानमार्फत हुथीमाथि प्रभाव प्रयोग गर्ने प्रयास गरेको हुन सक्ने विश्लेषण गरिएको छ। यद्यपि तेहरानले बेइजिङको आग्रहअनुसार कदम चाल्छ वा चाल्दैन भन्ने अहिलेसम्म स्पष्ट छैन। अब मुख्य प्रश्न चीनले आफ्नो आग्रह कार्यान्वयन गराउन इरानमाथि कति प्रभाव प्रयोग गर्न सक्छ भन्ने हो। इरान र चीन दुवैलाई एकअर्काको आवश्यकता रहेको अवस्थामा होर्मुज खुला राख्नु र लाल सागर हुँदै हुने समुद्री यातायात सुरक्षित गर्नु चीनको तत्कालीन रणनीतिक हित बनेको देखिन्छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्