रसुवा — माथिल्लो त्रिशुली जलविद्युत आयोजना–१ बाट ६ जनाको शव शुक्रबार निकालिएको छ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी हुँदै आएको भीषण बाढीमा आयोजनाभित्रको सुरुङमा पसेपछि थुनिएर ज्यान गुमाएकामध्ये ६ जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेना र आयोजनाका प्राविधिकसहितको संयुक्त टोलीले खोजीका क्रममा सुरुङभित्र ढलान गर्न बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला पारेका हुन्।
ग्रिण्डर, ग्यास कटर र रोटरी रेस्क्युको सहयोगमा ती शव बाहिर निकालिएको सेनाले उल्लेख गरेको छ। टनेलभित्र हिलोमा छोपिएको अवस्थामा थप अरू पनि शवजस्तो आकृति देखिएकाले खोजी जारी रहेको सेनाले बताएको छ।
बाढीको २२औँ दिनमा उद्धारकर्मीले बुधबार चिलिमे जलविद्युत आयोजनाबाट पाँच जनाको शव र एउटा खुट्टा बाहिर निकालेका थिए।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्