काठमाडौं । चलचित्र 'बा : एक योद्धा'को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ।

घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सिने छोराको कथालाई ट्रेलरले प्राथमिकता दिएको छ। आफ्नो दिदी बहिनीलाई बुवाले थोरै सम्पत्ति दिन्छु भन्दा सुन्न पनि नचाहने छोराको व्यवहारलाई ट्रेलरले देखाउने प्रयास गरेको छ।

आफ्नै बुवाको समस्या छोराहरूले नबुझ्दा बुवाआमाले भोग्नुपर्ने समस्या र अपमान देखाएको ट्रेलरले छोराभन्दा छोरीले अभिभावकको समस्या बुझ्छन् भन्ने देखाइएको छ।

छोराहरू महत्वाकांक्षी र अव्यवहारिक हुँदा मध्यमवर्गीय परिवार कसरी आर्थिक समस्यामा फसिरहेका छन् भन्ने ट्रेलरमा देखाइएको छ। आफ्ना छोराले भन्दा छिमेकीले पीडा बुझिरहेको देखाउने ट्रेलरले छोरीको कथालाई सस्पेन्समा राखेको छ। सकारात्मक सोच र सहयोगी बुवा र छोरी नै ठूलो समस्यामा फसिरहेको ट्रेलरले देखाएको छ।

चलचित्र 'बा : एक योद्धा' असोज ९ गतेबाट प्रदर्शनमा आउँदैछ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू 'बा : एक योद्धा'को मुख्य कथा रहेको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र 'बाः एक योद्धा'मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन्। फिचर सिनेमामा भने 'बाः एक योद्धा' उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

चलचित्र 'बाः एक योद्धा'का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। 'बा ः एक योद्धा' आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।