पाल्पा ।।पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।
सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ ।
मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालनहुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताए।
उनका अनुसार मेलाकालागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ ।
सत्यवतीबज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उनले बताए।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । धार्मिक तथा सांस्कृतिकमर्यादा कायम राख्न मेला क्षेत्रमा मदिराजन्य पदार्थको बिक्रीतथा सेवनलाई निषेध गरिएको समितिले जनाएको छ । सत्यवती मेलाको अर्को विशेषता रातको समयमा लिङ्गो गाडेर वर माग्ने परम्परा हो ।
भक्तजनले बाँस, निङ्गालो, साललगायतका काठबाट बनेका लिङ्गो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो पहिचान गरी पूजा गरेपछि घर फर्कने चलन छ ।
मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत रहिआएको छ । परापूर्वकालमा सत्यवतीबज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्तीप्रचलित छ । कानले नसुन्ने देवी भएकाले भक्तजनले आफ्नो मनोकामना चिच्याएर सुनाउने गरेको धार्मिक मान्यता छ ।
विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलनथियो । पछिल्लो समय भने कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म नै रातदिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ ।
सत्यवतीबज्यैको तीनतले नयाँ मन्दिर निर्माण
यस वर्षको सत्यवती मेलाको अर्को आकर्षण नवनिर्मित मन्दिर बनेको छ । पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ तीनतले मन्दिर निर्माण गरेको हो । रु ६५ लाख ५८ हजारभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए। पुरानो मन्दिर जीर्ण र सानो भएकाले नयाँ संरचना निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार नयाँमन्दिर सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएपछि यस वर्ष मेलामा आउने भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न पाउने भएका छन् ।
यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ । सडक सुधार र नयाँ मन्दिर निर्माणले मेलामा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ ।
धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ ।
हरेक वर्ष हजारौँ भक्तजनको आगमन हुने यस मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पु¥याउँदै आएको छ ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्