ओलीको आरोप : निर्वाचन प्रतिगमनको दोस्रो श्रृंखला, देशमा राज्य आतंक सिर्जना गरियो

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २१ गते भएको निर्वाचनलाई प्रतिगमनको योजनाबद्ध दोस्रो श्रृंखलाको संज्ञा दिएका छन्। उनले देशमा राज्य आतंक सिर्जना भएको र सरकार फासीवादतर्फ अघि बढिरहेको आरोपसमेत लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार तीन जना नवनियुक्त केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

ओलीले देशमा अहिले कोही पनि खुलेर बोल्न नसक्ने अवस्था सिर्जना भएको दाबी गरे। देशमा गुण्डाराज चलिरहेको र राज्यले स्वतन्त्रताको अभ्यास गर्न नसक्ने अवस्था बन्दै गएको उनको आरोप थियो।

यस्तो परिस्थितिलाई थप बिग्रन नदिन आन्दोलन आवश्यक रहेको उल्लेख गर्दै ओलीले देशलाई स्वतन्त्रता र स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्‍याउनुपर्ने बताए।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई लक्ष्य बनाएर आधुनिक नेपाल निर्माणको अभियान अघि बढाइरहेको उल्लेख गर्दै उनले मुलुकलाई वर्तमान संकटबाट बाहिर निकाल्ने जिम्मेवारी पार्टीको काँधमा आएको बताए।

पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित भएर अघि बढे मात्रै कार्यकर्तामा उत्साह भर्न र जनतामा एमालेप्रतिको आकर्षण बढाउन सकिने उनको भनाइ थियो। ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले विजय हासिल गर्ने विश्वाससमेत व्यक्त गरे।

कार्यक्रममा केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए। कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाललगायत पार्टीका नेताहरूको उपस्थिति थियो।