नेकपाको डेढमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु गाउँगाउँसम्म पुग्ने कार्यक्रम

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि देशव्यापी डेढमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले संगठन विस्तार, पार्टी सदस्यता नवीकरण तथा जनताका दैनिक जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्दै देशभर अभियान सञ्चालन गर्न लागेको हो।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानको उद्घाटन शनिबार दिउँसो २ः३० बजे काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ। अभियानको उद्घाटन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले गर्ने उनले जानकारी दिए।

ज्वालाका अनुसार अभियानका क्रममा देशका सबै वडा तथा गाउँगाउँसम्म पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ परिचालन गर्दै स्थानीय स्तरका समस्या, आवश्यकता र जनताका गुनासो संकलन गर्ने पार्टीको तयारी छ।

गत असोज २३ गते बसेको नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीले देशव्यापी रूपमा अभियान अघि बढाउन लागेको हो।

अभियानलाई संगठनात्मक रूपमा समेत महत्वपूर्ण बनाउने लक्ष्य नेकपाले लिएको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडा तथा पालिका अधिवेशन गर्ने निर्णय पनि पार्टीले गरेको छ। अभियानकै क्रममा पार्टीका विभिन्न समिति, जनवर्गीय संगठन तथा मोर्चाहरूको समायोजनसम्बन्धी बाँकी काम पूरा गर्ने तयारी गरिएको प्रवक्ता ज्वालाले बताए।

यस अवधिमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, पार्टीका बैठक, भेला र प्रशिक्षणलगायतका कार्यक्रम पनि सञ्चालन हुनेछन्। गाउँ तथा स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउँदै पार्टीको उपस्थितिलाई थप सुदृढ गर्ने अभियानको उद्देश्य रहेको पार्टीले जनाएको छ।

राजनीतिक रूपमा पनि अभियानलाई सरकारका कामकारबाहीबारे जनतामाझ आफ्नो धारणा राख्ने अवसरका रूपमा उपयोग गर्ने नेकपाको योजना छ। प्रवक्ता ज्वालाका अनुसार अभियानका क्रममा सरकारले गरेका गलत तथा जनविरोधी कामको भण्डाफोर गरिनेछ।

त्यसैगरी, जनताका जायज माग र दैनिक जनजीविकासँग सम्बन्धित समस्याहरू संकलन गरी सम्बन्धित निकायमा पेस गर्ने तथा ती माग कार्यान्वयनका लागि दबाब दिने कार्यक्रमसमेत अभियानमा समेटिने उनले बताए।

नेकपाले संगठन विस्तार, कार्यकर्ता परिचालन, स्थानीय तहमा पार्टी गतिविधि सुदृढीकरण र जनताका समस्यालाई राजनीतिक एजेन्डाका रूपमा उठाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो। डेढ महिनासम्म चल्ने यस अभियानले आगामी स्थानीय तह निर्वाचनको तयारीमा पार्टीलाई कस्तो प्रभाव पार्छ भन्ने विषयलाई पनि राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।