प्रधानमन्त्री नरेन्द्र मोदी ले विश्वव्यापी ऊर्जा संकट र जारी युद्धका बीच संसारलाई गम्भीर चेतावनी दिएका छन्। नेदरल्यान्ड्सको हेगमा भारतीय मूलका नागरिकहरूसँगको संवादका क्रममा उनले वर्तमान दशक मानवताका लागि अत्यन्त चुनौतीपूर्ण बनेको बताएका हुन्।

पाँच देशको भ्रमणको दोस्रो चरणमा नेदरल्यान्ड्स पुगेका प्रधानमन्त्री मोदीले हालको अवस्थालाई “आपतहरूको दशक” भन्दै वर्णन गरे।

उनका अनुसार कोरोना महामारीपछि सुरु भएको युद्ध र त्यसपछि देखिएको ऊर्जा संकटले विश्व अर्थतन्त्र र मानव जीवन दुवैलाई प्रभावित पारेको छ। उनले यदि तत्काल सुधारात्मक कदम नचालिए भने पछिल्ला धेरै दशकका उपलब्धिहरू नष्ट हुन सक्ने चेतावनी दिए।

प्रधानमन्त्री मोदीले भने, “यो दशक मानवताका लागि चुनौतीहरूको दशक बनेको छ। महामारीपछि युद्ध सुरु भयो र त्यसपछि विश्व ऊर्जा संकट बढ्दै गयो।”

उनले विश्वको ठूलो जनसंख्या फेरि गरिबीको चपेटामा पर्न सक्ने सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरे।

मोदीले ऊर्जा संकटलाई ध्यानमा राख्दै भारत सरकारले ऊर्जा बचतमा जोड दिइरहेको उल्लेख गरे। साथै उनले नागरिकहरूलाई आवश्यक मात्रामा इन्धन प्रयोग गर्न, अनावश्यक विदेश यात्रा कम गर्न र ऊर्जा बचत गर्न आग्रह गरेको बताए।

उनका अनुसार दीर्घकालीन रूपमा ऊर्जा सुरक्षा र जिम्मेवार उपभोग नै विश्व स्थिरताको मुख्य आधार हो।